PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

विश्वासको मत पाएपछि खगराजले भने : आलोपालो थाहा छैन, आवश्यकता अनुसार मन्त्रिपरिषद् विस्तार  



पहिलोपोस्ट

विश्वासको मत पाएपछि खगराजले भने : आलोपालो थाहा छैन, आवश्यकता अनुसार मन्त्रिपरिषद् विस्तार  

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा आलोपालोबारे आफूलाई थाहा नभएको बताएका छन्।

आज प्रदेशसभामा विश्वासको मत पाएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, 'आलोपालोबारे मलाई थाहा छैन।'  

उनले आफ्नो नेतृत्वको सरकारलाई प्रभावकारी प्रदेशको मूल्य मान्यता अनुसार अघि बढाउन समेत बताए।

'जनताको प्रदेश जनताको सरकार बनाउने विषयमा सुझावमा काम गर्छौं,' उनले भने।

उनले आवश्यकता अनुसार छिट्टै मन्त्रिपरिषद् विस्तार हुने पनि बताए।

'आवश्यकता अनुसार हुन्छ। अहिले चारजनाले काम चलिरहेको छ,' उनले भने।

 नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका अधिकारी गत सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए। आज विश्वासको मतका लागि भएको मतदानमा ६० सदस्यीय गण्डकीमा मुख्यमन्त्री खगराजलाई ३१ जना सांसदले मत दिए।

प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन्। प्रदेश सभामा २७ कांग्रेसका सांसद र एक स्वतन्त्र सांसद गरि २८ जना प्रतिपक्षमा बसेका छन्।

यसअघि सोमबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गर्दा स्वतन्त्र सांसद दिपक मनाङेले खगराजलाई समर्थन गरेका थिए। तर, आज प्रतिपक्षमा बस्ने बताउदै मनाङे बैठकमा अनुपस्थित भए।

मानङे अनुपस्थित भएको बारेमा खगराजले  भने, 'मैले ६० जनासँगै मत मागेको थिएँ। उहाँ आउनु भएन। तर उहाँको साथ समर्थन रहन्छ भन्ने लाग्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell