PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सीमा विवादसम्बन्धी समस्या समाधान गर्न चीन-भुटान इजीएमको बैठक सम्पन्न



पहिलोपोस्ट

सीमा विवादसम्बन्धी समस्या समाधान गर्न चीन-भुटान इजीएमको बैठक सम्पन्न
फोटो: चिनियाँ विदेश मन्त्रालय।

सांघाई: चीन-भुटानबीच विवादित सीमासम्बन्धी समस्या समाधानका लागि गठित विज्ञ समूह (इजीएम) को बैठक कुनमिङमा सम्पन्न भएको छ। 

शुक्रबार सम्पन्न ११औँ इजीएममा दुवै पक्षले स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा वार्तालाई तीव्रता दिने विषयमा छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। 

बैठकले २५औं चरणको वार्ताका लागि यथाशीघ्र मिति तय गर्ने समझदारी गरेको छ। 

छलफलमा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङ र भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमाका सचिव दाशो लेथो तोब्धेन ताङ्बीले गरेका थिए।

चीन र भुटानबीच ४७७ किलोमिटर सीमा जोडिएको छ। जसमध्ये दुई वटा क्षेत्र चीन, भारत र भुटानबीचको त्रिदेशीय सीमा क्षेत्र हो। भुटान र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध छैन। दुई देशबीच सीमा विवाद रहँदै आएको छ। दुई देशले  १९८० देखि लगातार सीमा विवादसम्बन्धी समस्या समाधानका लागि छलफल गरिरहेका छन्। 

दुई देशबीच भुटान-चीन शीमा क्षेत्रमा शान्ति कायम राख्नका लागि समझदारी भएको थियो। यो समझदारीमा चीनले भुटानको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई स्वीकार गरेको छ।  

सन् १९५९ मा चीनका प्रधानमन्त्री चाउ इन लाइले भारतीय प्रधानमन्त्री जहोरलाल नेहरुलाई पत्राचार गरी भुटानसँग प्रत्यक्ष सीमा वार्ता गर्ने प्रस्ताव राखेका थिए। सन् १९८० मात्र भुटान र चीनबीच सीमा वार्ता भएको थियो। त्यसअघि यस सम्बन्धी वार्ता भारतसँग हुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell