PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

जाडोमा तातो दिने मौलिक परिकार चाकु : भान्साबाट उद्योग हुँदै बजार पुग्यो, कहिले होला लेबलिङ?



पहिलोपोस्ट

जाडोमा तातो दिने मौलिक परिकार चाकु : भान्साबाट उद्योग हुँदै बजार पुग्यो, कहिले होला लेबलिङ?

  • बिजीशा बुढाथोकी

काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले काठमाडौंका पसलहरुमा चाकुको बेच्न राखिएको देख्‍न थालिएको छ।

बाह्रै महिना बिक्रीमा राखिए पनि चाकुको व्यापार हुने विशेष समय छ। नेपाली समाजमा यो मौलिक परिकार हो। ‘य:मरी पुन्ही तथा माघे संक्रान्ति चाकु धेरै बिक्री हुने समय हो,’ असनका खुद्रा पसले उत्तमकाजी तुलाधर भन्छन्, ‘चाकु, तील-भुजाका लड्डु बेच्नेले माघे संक्रान्तिका बेला डेढदेखि दुई लाखसम्मको व्यापार गर्छन्।’

हात-हातै कारोबार हुने मकर संक्रान्तिका परिकार साना घरेलु उद्योगहरुले उत्पादन गर्छन्। पुराना कतिपय व्यवसायीले घरमै बनाउँछन्। आफैं बेच्न राख्छन्। चाकु साना पसलेबाट अहिले डिपार्टमेन्टल स्टोरसम्म पाइन्छन्। चाकुको कारोबार काठमाडौं उपत्यकामा मात्रै सीमित नभएर मुलुकका प्रमुख सहरहरुसम्म फैलिएको छ। सानो सानो परिमाणमा छरिएर हुने कारोबार लाखौंको छ।

तर, के तपाइँले चाकुका प्याकेटमा कहिलै उत्पादक, उत्पादन मिति उल्लेख भएको लेबल देख्नु भएको छ? चाकुको प्याकेटमा उपभोक्ताले लेबल बिरलै देख्न पाउँछन्। न उत्पादन मिति न त उपभोगका लागि उपयुक्त अवधिको जानकारी। लेबलिङ बिना नै चाकुलाई पारदर्शी प्लास्टिकमा मात्रै प्याक गरेर पसलहरुमा बिक्रीमा राखिएको हुन्छ।

उपभोक्ता हित संरक्षणका दृष्टिले प्याकेटमा उपभोग्य मितिको जानकारी हुनैपर्छ। यसमा वर्षौंदेखि चलिआएको कारोबार भन्दै बेवास्ता गरिएको बजारमा देखिन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य खाद्यवस्तुको नाम, उत्पादक, उपभोग्य मिति उल्लेख गर्नैपर्ने व्यवस्था ऐनमा भएको बताउँछिन्।  ‘उत्पादन मिति र अन्तिम मिति राख्नैपर्छ। पसलहरुमा बिक्री वितरण गर्ने भएपछि  खाद्य ऐन र उपभोक्ता हित संरक्षण ऐन मान्दिन भन्न पाइँदैन,’ उनी भन्छिन्, ‘उत्पादन मिति र उपभोग्य मिति, उत्पादकको नाम, खाद्य वस्तुको सामग्रीहरु सबै नै उल्लेख गर्नुपर्ने हुन्छ।’

केही वर्षयता घरबाट निस्केर बजारमा पुगेका चाकु लगायतका अधिकांश मौलिक नेपाली खाद्यवस्तु उत्पादन र बजारीकरण गर्नेहरु सचेत नभएको देखिएको उनी बताउँछिन्। खानेकुरा निश्चित समयभित्र उपभोगका लागि योग्य हुने भएकाले उत्पादकले यसबारे उपभोक्तालाई जानकारी दिनैपर्ने उनको भनाइ छ।

चाकु परम्परागत उत्पादन हो। गुन्द्रुक, मस्यौरा जस्तै घर-घरमा नै तयार पारिने चाकु बनाउन झन्झट छन्। त्यसैले किने खाने बढे, जसका कारण बजार चलेको छ। बजार देखेका उद्यमीले उद्योगकै रूपमा चाकु उत्पादन, प्याकेजिङ र बजारीकरण गरिरहेका छन्। उनीहरुका लागि  लेबलिङ केही गाह्रो छैन।

‘चाकु जसरी बनाइन्छ चाकु छिट्टै बिग्रिने खानेकुरा होइन। अरु खानेकुरा जस्तो यसमा ब्याक्टेरिया वृद्धि  हुँदैन। चाकु चिनीको नै पाक भएकाले पनि यसमा ढुसी पनि आउँदैन। तर चाकुमा उपभोक्ताले भोग्न परेको मुख्य समस्या भनेको सरसफाइको हो,’ डा. वैद्य भन्छिन्,  ‘सफा ठाउँमा बनाइएको होइन भने कतिपय बजारी चाकुमा बालुवाको कणहरु टाँसिएको हुन्छ, किरकिर लाग्ने पाइएको छ।’

व्यवसायी तुलाधर नयाँ र खान योग्य चाकु नपग्लिने र पुरानो भए पग्लिएर जाने प्रष्ट्याउँछन्। ‘स्टकमा रहदैन, रह्यो भने पनि दुई/तीन महिना केही हुँदैन,’ उनी भन्छन्, ‘हामीले जति अर्डर गर्यौँ त्यति नै बनेर आउने गर्छ। उत्पादकहरुले अर्डर अनुसार नै बनाउने गर्छन्। पहिल्यै चाकु बनाएर स्टक राख्‍ने गरिदैन।’

यद्यपि तीन वर्षयता केही चाकु उत्पादकले उपभोक्ताको चासोलाई ध्यानमा राख्दै लेबलिङ गर्न थालेका छन्। तर उनीहरुले राख्ने लेबलमा उपभोग्य मिति र उत्पादन मिति प्रष्ट उल्लेख नभएको पाइएका छन्।

काठमाडौंका बजारमा आइपुग्ने चाकुमध्ये धेरै उत्पादन टोखाको हुन्छ। ‘चाकु उत्पादन करको व्यापार मात्रै हो। पुस्तौंदेखि गर्दै आएको काम छोड्न नसकेर मात्रै कयौँ उत्पादकहरुले चाकु बनाइरहेका हुन्,’ तुलाधर भन्छन्, ‘सक्खरको भाउ नै १०० रुपैयाँ प्रतिकिलो पुगिसक्यो। यति महँगो सक्खरलाई पकाएर, प्याकेज गरेर बजारमा ल्याउँदा ठूलो मिहिनेत र खर्च आउँछ।’

महानिर्देशक डा.वैद्य चाकुका बारेमा प्रष्ट पार्छिन् – ‘गर्मीमा यो पग्लिन थाल्छ। यसलाई तापक्रमले असर गर्छ।’ काठमाडौंको मौसममा यो पाँच महिनासम्म पनि नबिग्रिने उनी बताउँछन्।

चाकु चिनीभन्दा धेरै फाइदाजनक हुने पनि उनी बताउँछिन्,  ‘चाकुमा उखुबाट आउने मिनरलहरु सबै हुन्छ।  चिनी त प्रशोधन गरेको हुन्छ। त्यसमा सुक्रोज मात्रै हुन्छ। चाकुले हाम्रो शरीरमा ऊर्जा प्रदान गर्ने र प्रतिरक्षा शक्ति बढाउने हुँदा विशेषगरी जाडो महिनामा खाने गरिएको हो।’

स्वस्थकर उत्पादन कारोबारका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाकुजस्ता मौलिक खाद्यवस्तुलाई नियमनको दायरामा ल्याउने तयारी गरिरहेको छ। ‘ठुला डिपार्टमेन्टल स्टोरले उत्पादक र उत्पादन मिति नभएका खानेकुरा बेच्न राख्दैनन्। चाकु उत्पादक घरेलु उद्यमी छन्, नियमनको छुट्टै मापदण्ड छैन,’ महानिर्देशक डा. वैद्य भन्छिन्, ‘स्वास्थ्यका दृष्टिले सबै सचेत हुनु जरुरी छ। हामी मापदण्ड बनाउँदै छौं।’

यसरी बनाइन्छ चाकु

परम्परागत रुपमा चाकु उखुको रसबाट बनाउने गरिन्थ्यो। पछिल्लो समय सक्खर (गुड, भेली) को प्रयोग हुने गरेको छ, जुन प्राय मधेसका जिल्लाबाट बजारमा आइपुग्छ।

चाकु बनाउन सुरुमा ठूलो भाडामा सक्खरका डल्लाहरुलाई पानीमा राखेर उमालिन्छ। पातलो घोल तयार भएपछि त्यसलाई छानिन्छ। यो प्रक्रियाले सक्खरमा ढुंगा, बालुवाका कण छुट्याउन सकिन्छ ।

घोललाई अर्को भाँडोमा खन्याइ लगातार चलाउँदै बाक्लो बनुन्जेल घण्टौंसम्म पकाइन्छ। त्यसपछि सेलाउन राखिन्छ। केही थोरै सेलाउन दिए सो मिश्रणलाई काठको ठुटोमा राखी तन्काउदै बेर्दै बटार्दै चाकु तयार पारिन्छ।

त्यसपछि भने तयार चाकुलाई सानो-सानो टुक्रा बनाइन्छ। विभिन्न आकार दिइन्छ र नरिवल, बदाम र फर्सीको बियाँले माथिबाट सजाइन्छ। सामान्य प्लास्टिकमा प्याक गरेर बजार पठाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell