PahiloPost

Nov 10, 2024 | २५ कात्तिक २०८१

काठमाडौं महानगरको नगरसभामा पेश भयो दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट



पहिलोपोस्ट

काठमाडौं महानगरको नगरसभामा पेश भयो दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट
तस्विर : काठमाडौं महानगरपालिका

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको संशोधित बजेट नगरसभामा पेश गरेको छ। 

महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रवार सुरु भएको नगरसभामा उपप्रमुख सुनिता डङ्गोलले उक्त संशोधन प्रस्ताव पेश गरेकी हुन्। चालु आर्थिक वर्षका लागि स्वीकृत चार अर्ब ३६ करोड ७१ लाख सात हजार रुपैयाँको बजेटका कार्यक्रमलाई संशोधनमा लगिएको हो। महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ अनुमानित बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो। 

सभामा लेखाप्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिकी संयोजक गायत्री पुडासैनीले आर्थिक वर्ष २०७७-७८ को अन्तिम लेखा परीक्षण प्रतिवेदन प्राप्त भएको जानकारी दिइन्। त्यस आर्थिक वर्षमा बेरुजु देखिएको एक अर्ब सात करोड १२ लाख रुपैयाँ मध्ये प्रारम्भिक प्रतिवेदनको माध्यमबाट ३७ लाख ८१ हजार रुपैयाँ फस्र्यौट भएको छ। सभामा विधायन समितिका संयोजक एवं वडा २३ का अध्यक्ष मचाराजा महर्जनले विधेयक तथा संशोधन गर्नुपर्ने ऐन सम्बन्धी प्रस्ताव पेश गरेका थिए। यसरी पेश भएका दुई विधेयकमा नगर प्रहरी र सार्वजनिक निजी साझेदारी तथा लगानीसम्बन्धी छन्।

संशोधन गर्नुपर्ने बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, कर्मचारीको सेवा सर्तसम्बन्धी ऐन, २०७७ र आर्थिक ऐन २०७९ संयोजक महर्जनले पेश गरे। पेश भएका विधेयक तथा ऐनको दफावार छलफलका लागि विधायन समितिमा पठाइएको छ। समितिले यी दस्तावेज नगरसभाको आगामी बैठकमा पेश गर्नेछ।

सभामा सुशासन समितिका संयोजक एवं वडा २६ का अध्यक्ष ख्यामराज तिवारीले कामपाको सङ्गठन संरचना, दरबन्दी संरचना र केही पद नामको कार्य विवरण संशोधनसम्बन्धी प्रस्ताव पेश गरेका थिए। स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ को दफा ५ उपदफा १ बमोजिम प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति र सुशासन समितिको निर्णयका आधारमा संयोजक तिवारीले प्रस्ताव पेश गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell