PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

आजबाट टुँडिखेलमा माघी महोत्सव, थारु परिकारको स्टलहरु रहने



पहिलोपोस्ट

आजबाट टुँडिखेलमा माघी महोत्सव, थारु परिकारको स्टलहरु रहने

काठमाडौं : आजबाट टुँडिखेलमा माघी महोत्सव २०७९ सुरु हुने भएको छ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव  मनाउन लागिएको हो।

महोत्सवमा थारू सांस्कृतिक झाँकी,र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ।

महोत्सवमा १०० विविध स्टल राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ। ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर-बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् ।

त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ।

महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ।

पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल र्‍याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ। माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, वेशभूषा, बाजागाजा, सङ्घसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी र्‍यालीसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell