PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अष्टलक्ष्मी शाक्यलाई प्रश्न : तपाईंलाई राष्ट्रपतिमा केपी ओलीले नपत्याएको हो?



निशा गुरुङ

अष्टलक्ष्मी शाक्यलाई प्रश्न : तपाईंलाई राष्ट्रपतिमा केपी ओलीले नपत्याएको हो?

हेटौंडा : नेपालको राजनीतिमा नयाँ समीकरण बनेसँगै पदीय भागबण्डाको लेखाजोखा चलिरहेको छ। नेकपा एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा भागबण्डाको कुरा अझै नमिल्दा सरकारले पूर्णता पाइरहेको छैन।

७ दलको समर्थन, त्यसमाथि कांग्रेसलगायत अरु दलको पनि विश्वासको मत। ३२ सिट रहेको माओवादीलाई प्रधानमन्त्रीको चाबी बुझाएको एमालेले देशको सबैभन्दा ठूलो पद राष्ट्रपतिमा दाबी गरेको छ। माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन गरिसक्नु पर्ने हुँदा राष्ट्रपतिको टिकट फुत्क्याउन एमालेका नेताहरुको भागदौड चलिरहेको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु राष्ट्रपतिको दौडमा छन् भने वाग्मती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको समेत चर्चा चल्न थालेको छ। तर, एमालेले कसलाई राष्ट्रपति बनाउला? भन्ने चासो यतिबेला सबैलाई छ। यिनै विषयमा केन्द्रित रहेर पहिलोपोस्टकर्मी निशा गुरुङले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश :

प्रचण्ड नेतृत्वको सरकारलाई ओली नेतृत्वको एमालेले कसरी स्वीकार गरेको छ?

मुख्य कुरा त यतिबेला हामी सबैको चासो र चिन्ताको विषय भनेको देशलाई कसरी समृद्धिमा पुर्‍याउने र नेपाली जनतालाई कसरी खुशी बनाउने र राजनीतिक स्थायित्व कसरी कायम गर्ने सुशासन कसरी कायम गर्ने यो महत्वपुर्ण विषय छ। र, हामी सबैले समाजवादको लक्ष्य लिइसकेका छौं साझा विषयको रुपबाट। त्यो समाजवादको लक्ष्यमा कसरी पुग्ने भन्ने कुराहरुको एउटै सबैको मुल महत्वपूर्ण जिम्मेवारी यही जस्तो लाग्छ मलाई। त्यसैले यतिबेला सबै राजनीतिक दलहरुले एक ठाउँमा बसेर यो चिन्ता गर्नुपर्ने आवश्यकता छ।

भर्खरै निर्वाचनबाट सबै राजनीतिक दलहरुलाई जनमतबाट आ आफ्नो ठाउँमा सिटअनुसार विभाजन गरिसकेको अवस्था छ। त्यसो भएको हुनाले जनताको त्यो विश्वासलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको हुनाले पनि एक अर्कामा मनमुटाव होइन ,अविश्वास होइन र अलिकति परपर बसेर आफूले आफूलाई समीक्षा गर्नुपर्ने यतिबेला पनि जरुरी देखिन्छ। त्यसकारणले नेकपा एमाले यो महसुस गर्दै यो जिम्मेवारीलाई बोध गर्दै अब मिलाएर आगाडि बढ्नुपर्छ। र , देशलाई समद्ध विकासमा पुर्‍याउनुपर्छ र सुशासन कायम गर्नुपर्छ।  राजनीतिक स्थायित्व दिनुपर्छ भनेर ती विश्वासका साथ अरु दलहरुसँग विश्वास लिएर अहिले नयाँ समीकरण भएको छ।

संघीयताविरोधीदेखि राजतन्त्र पक्षधर पार्टी छन्?

मलाई गठबन्धनको कुरा भन्दा पनि राजनीतिक दल के का लागि? यतिबेला जनालाई प्रष्ट गर्नुपर्नै स्थिति छ। के को लागि राजनीतिक दलहरु भनेर भनिरँहदा देशको उन्नति र प्रगतिको लागि हो। विकासको लागि हो। स्थायित्वको लागि हो। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ६२-६३ सालमा शान्तिपूर्ण जनक्रान्ति गरेर बलिदानीका साथ स्थापना गरेको हो। मलाई के विश्वास छ भने सबै राजनीतिक दलहरुले होला, उहाँहरुको आ-आफ्नो उद्देश्य होला, लक्ष्य होला तर, यहि संविधानलाई आत्मविश्वास गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ यो संविधानमा टेकेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई महसुस गरेर निर्वाचनमा भाग लिनुभएको छ। र , निर्वाचनबाट जनमतबाट आफ्नो स्थान पनि कायम गर्नुभएको छ।

त्यसैकारणले हामीले यसलाई महसुस गर्ने कि नगर्ने? सबै राजनीतिक दलहरुले महसुस गर्न जरुरी छ भन्छु म। त्यसो भएका हुनाले हामीले गणतन्त्रलाई बलियो बनाउने कि नबाउने? जनताले त हिजोको निरंकुशता हिजोको एकात्मक शासन, हिजोको राजतन्त्रात्मक शासन यो त समय क्रममा चल्ने विस्थापित गरिसकेको अवस्था छ। अब नयाँ ढंगले जानुपर्छ। मुलुक नयाँ ढंगले अगाडि बढाउनुपर्छ भनेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको छ। र, जनताको यो चाहना भावनालाई कुनै राजनीतिक दलहरुले पनि यो हुँदैन भनेर भन्न सकिने अवस्था छैन। स्वीकार गरेर यही निर्वाचनमा आइसकेपछि यसलाई मनन गर्न जरुरी छ। यसलाई आत्मसमीक्षा गर्न जरुरी छ। र, यसलाई एकताबद्ध भएर लक्ष्यमा पुग्न जरुरी छ। त्यसकारण सबै राजनीतिक दलहरुले यतिबेला देश र जनताको हितमा अब काम गर्ने की नगर्ने? गणतन्त्र नेपाल भनेको कुरा के हो भन्ने कुरा अनुभुत गराउने की नगराउने? यो काम भनेको राजनीतिक दलहरुको काम हो। राजनीतिक दलहरुको काँधमा यो जिम्मेवारी आइसकेको छ। त्यसो भएको कारणले यथास्थिति सोचमा अब बस्न सकिदैन। नेपाली जनताले परिवर्तन चाहेको छ। नयाँ ढंगले त्यो पनि नयाँ सोचका साथ नयाँ भिजनका साथ त्यसो भएको हुनलो सबै राजनीतिक दलको शीर्ष नेतृत्व जरुरी छ। 

गठबन्धनमा राष्ट्रपति एमालेले पाउने निश्चित छ। पार्टीबाट निर्णय हुन्छ या ठुला नेताको गोजीबाट राष्ट्रपतिको नाम सिफारिस हुन्छ?

यो राष्ट्रपति पद भनेको अरु स्थानीय निर्वाचनमा टिकट जस्तो अथवा प्रतिनिधि सभा र प्रदेश सभाको टिकट बाँडेको जस्तो हुँदैन। यो राष्ट्रको गरिमामय पद हो। यो सबैलाई संयोजन गर्न सक्ने संरक्षकत्व, अभिभाकत्व प्रदान गर्न सक्ने त्यो क्षमता राख्ने पद हो। त्यसकारण हामी सबै मिलरै राष्ट्रपति यस्तो हुनुपर्छ भनेर यो महत्वका साथ यो पद सिर्जना गरेको हो। यो पदलाई संस्थागत गर्नुपर्छ। विधि प्रकृयाद्वारा यसलाई निर्णयमा पुर्‍याउनुपर्छ। नेकपा एमालेले आफ्नो संस्थागत कमिटी बनाएर, कमिटीमा छलफल गरेर जति पनि नामहरु आएको छ त्यसमा प्रतिस्पर्धा गर्ने अथवा अनेकन हिसाबले सोचेर निर्णयमा पुग्नुपर्छ।

असल व्यक्तित्व चाहियो। अभिभावक्त्व दिन सक्ने व्यक्ति चाहियो। सबैलाई समेटेर लग्न सक्ने पद भएको हुनाले पनि त्यो खालको पद भएको हुनाले पनि त्यस्तो खालको व्यक्तित्व हुनुपर्छ। मुख्य कुरा भनेको यो संस्थागत नै गर्नुपर्छ कमिटी प्रणालीमा नै जानुपर्छ बसेर छलफल गरेर सामुहिक निर्णयबाट टुंग्याउनुपर्छ।

राष्ट्रपतिमा तपाईंको नाम पनि चर्चामा छ नि?

मैले त्यसरी यसलाई हेरेकै छैन। आम जनमतबाट अथवा समर्थक, शुभेच्छुकहरुबाट चाहना राख्नेहरुले त्यो अभिव्यक्तिहरु दिइराखेको कारणले मेरोमात्र होइन अरुको पनि नाम आएका छन्। यसलाई अन्यथा लिनै सकिन्न।

तर, अब यसैलाई जे जति नाम आएको छ यो पार्टीको विषय हो। पार्टीले छलफल गर्नुपर्छ, व्यक्तिको चाहनाले हुँदैन। मेरो चाहनाले अथवा कसैको चाहनाले म राष्ट्रपति हुन्छु मलाई चाहिन्छ भनेर जिद्धी गर्ने दबाव सिर्जना गर्ने जसरी भए पनि प्राप्ति गर्ने यो खालको विषय होइन यो। त्यसकारण यसलाई पार्टीको विषय बनाउनुपर्छ र साझा विषय बनाएर यसलाई टुंग्याउनुपर्छ।

जहाँसम्म मेरो सवाल छ। संघमा सबैले मलाई यो चर्चाको विषय बनाइदिनुभयो त्यस्को लागि त म धन्यवाद दिन चाहन्छु।

पहिला पनि तपाईंको नाम चर्चामा आएको थियो। विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो। अहिले पनि त्यस्तै अवस्था हो?

त्यसरी पनि नहेरौं। अब पालो भन्ने कुरा पनि मलाई त्यति उचित लाग्दैन। मैले अघि पनि भने राष्ट्रपतिबारे यतिबेलाको आवश्यकता अहिलेको परिस्थितिलाई मध्यनजर राखेर ध्यान दिनुपर्छ र निर्णय गर्नुपर्छ। त्यसो भएको हुनाले त्यसमा निर्णय गरिहँदा अहिले आएकै नामहरुबाट अथवा मेरै बारेमा छलफल हुनसक्छ। अरु साथीहरुको बारेमा पनि छलफल हुन सक्छ। त्यसो भएको हुनाले म चाँहि फलानोको पालो सिध्दियो अब मेरो भन्दिँन। राजनीतिमा त्याग र योगदान नगरी साँच्चिकै परिवर्तन हुँदैन। न समाज परिवर्तन हुन्छ, न राजनीतिक व्यवस्था परिवर्तन हुन्छ। त्यसैले त्यागको राजनीति जरुरी छ। अहिले पनि त्यागको राजनीति जरुरी छ, निष्ठाको राजनीति जरुरी छ, इमान्दारिताको राजनीति जरुरी छ। हिजो त्यागको राजनीति थियो अहिले सुविधा र सत्ताको राजनीति भएको हुनाले भागबन्डाको कुराहरु, अस्वस्थताको कुराहरु आउने गरिराखेको छ। यो चाँहि राम्रो होइन।

विगतमा तपाई माधव नेपालको पक्षमा हुनुहुन्थ्यो। त्यही कारणले गर्दा पार्टी अध्यक्षले तपाईलाई राष्ट्रपतिको रुपमा विश्वास गर्न नसकेको भन्ने छ नि?

होइन त्यस्तो कुराहरु लाग्दैन मलाई। पार्टीको राजनीतिमा लाग्दा कस्तो हुन्छ भने कहिले कुन पक्षमा कहिले कुन पक्षमा। यो राजनीतिक भित्र विचारको छलफल गरिहँदा त्यो स्वभाविक हो। यसलाई अचम्म मान्नुपर्ने, अनौठो मान्नुपर्ने अथवा मलाई असहयोग गर्‍यो भनेर भन्नुपर्ने खालको स्थिति बन्नु हुँदैन। समय क्रममा परिपक्व हुँदै जान्छ। राजनीतिक विचारबाट छलफल भएर एउटा निष्कर्षमा पुगिसकेपछि अनि त्यसपछि पार्टी अगाडि बढ्ने हो।

मैले फुटको पक्षमा कहिले पनि साथ दिइनँ। म फुटको अत्यन्तै विरोधी। दुःख गरेर त्याग गरेर बलिदान गरेर पार्टी बनाउने अनि त्यसपछि बिर्सने कुरा हुँदैन। त्यसकारण यही कारणले आज नेकपा एमाले यति बलियो स्थितिमा आएको हो। त्यसकारण राजनीतिक नेतृत्वले सबैलाई समयक्रममा सबै कुराहरु समीक्षा गर्ने कुराहरु, आत्माआलोचित हुनुपर्ने कुराहरु, आलोचना गर्नुपर्ने कुराहरु यो कुरा भनेको प्रकृयाको कुरा हो। पद्धतिको कुरा हो। यसलाई कुनै अफ्ठ्यारो मान्नुपर्ने छैन भन्छु म।

यो पार्टीलाई अझ बलियो बनाएर अगाडि बढ्नुपर्छ भन्ने आम नेपाली नागरिक नागरिकको माग हो। यतिमात्रै होइन यो देशको समृद्धि र विकासको लक्ष्यमा पुग्न नेकपा एमालेको नेतृत्व अपरिहार्य भयो भन्ने कुराहरु अहिले महसुस गरेको छ। त्यसकारण यो सबै नेकपा एमाले सुदृढ बलियो एकताबद्ध जरुरी छ। र , सबै मिलेर अगाडि बढ्न जरुरी छ।

वामपन्थी एकताका कुराहरु पनि उठिरहेको छ। तपाईहरुबाटै विभाजित भएर गएका नेकपा एसले नै यसलाई जोड दिइरहेको छ। यसबारेमा तपाईंको धारणा के छ?

वामपन्थी एकताबारे मैले पहिलदेखि भन्दै पनि आएको छु। यो दुर्भाग्य हो नेपालको लागि, वामपन्थीहरुको विचार अलिअलि फरक होलान् तर लक्ष्य त एउटै हो नि। समाजवाद साम्यवादमा पुग्ने, समाजवादको लक्ष्य, अनि राजनीतिक स्थायित्व कायम गर्ने गणतन्त्रको लक्ष्य। यो त कम्युष्टिहरुको महत्वपूर्ण लक्ष्य हो नि। हामी आफैले पनि जनताको बहुदलिय जनवादमा सिर्जनात्मक प्रयोग गर्नुपर्छ भनेर त्यो प्रष्ट नीतिको कार्यक्रमका साथ अगाडि बढिराखेको अवस्था छ। यो भनिसकेपछि यस्तोबेलामा वामपन्थीहरुको अरु कुनै स्वार्थ छैन। देश बनाउने कुरा नै हो।

अब के को लागि अलगअलग भएर बस्ने? किन धेरै कम्युष्टि पार्टी चाहियो? मलाई लागेको चाँहि त्यही हो। त्यसो भएको हुनाले आज अहिले नै भनेर म भन्दिनँ। तर, यसमा अब सोच विचार गर्न जरुरी छ। छलफल गर्न जरुरी छ। र, हामीले जुन बाटो अपनाइरहेका छौं। त्यो बाटो कति सत्य छ? कति सहि छ? कति सच्याउन पर्ने भो यो कुराहरु छलफल गरेर एक ठाउँमा आउन जरुरी छ। जनताको माग आवश्यकता पनि यहि हो। फरक फरक कम्युष्टि पार्टी बनाएर एकले अर्कालाई आरोप लगाउन जरुरी छैन। त्यसकारण विगतका कमी  कमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell