काठमाडौं : लेखिका शारदा शर्माले पछिल्ला दिनहरुमा समाजमा बलात्कारको भाष्य डरलाग्दो बन्न थालेको धारणा राखेकी छिन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफ्नो धारणा राखेकी हुन्।
‘हाम्रो समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो बनेको देखिन्छ!’ शर्माले भनेकी छिन्, ‘बलात्कारीलाई फाँसी दिने कानून बनाउनुपर्छ, तिनको लिंग काट्नुपर्छ, भन्ने जस्ता उग्र कुरा पहिला खुब सुनिन्थे, अहिले सुनिंदैनन्।‘
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सय दिन जेल जीवन बिताएर शुक्रवारमात्र रिहा भएका छन्। २० लाख धरौटी तिरेर लामिछाने रिहा भएको भोलिपल्ट शर्माले यस्तो टिप्पणी गरेकी हुन्। उनले बलात्कार आरोपीहरु अहिले आफ्नै भाइ छोराजस्तै मान्ने गरेको र यस्ता होनाहार पुरुष कसैगरी बलात्कारी हुन नसक्ने खालका नजरिया समाजमा स्थापित भएको बताएकी छिन्।
‘किनकी यतिखेर बलात्कारआरोपितहरु पुराना हिन्दी सिनेमाका खलनायक जस्ता डरलाग्दा देखिंदैनन्, आफ्नै भाई छोराजस्ता सुकुमार देखिन्छन्। आफैंजस्ता देखिन्छन्। र, सामाजिक संजालका आएका अधिकांश टिप्पणी हेर्दा लाग्छ, यस्ता होनहार पुरुषहरु कसैगरी बलात्कारी हुन सक्तैनन्। तिनको यौन आचरण पूरापूर जायज हो,’ शर्माले लेखेकी छिन्।
यो बीचमा कलाकार पल शाह पनि बलात्कार मुद्दामा थुनामा छन्। पलको मुद्दा र सन्दीपको मुद्दामा धेरैले किशोरीलाई दोष दिएर पुरुष निर्दोष रहेको बताउन थालिएकोतिर लक्षित गर्दै शर्माले यो घातक हुने बताएकी छिन्। ‘अर्को डरलाग्दो कुरा - खराब केटीहरु नै हुन्, तिनैले उनीहरुलाई फसाएका हुन् भन्ने मान्यता निर्माण भइरहेझैं लाग्छ, छोरीहरुको असल पनको मानक हाम्रा हजुरआमाहरुकै समयलाई बनाउन खोजिंदैछ। यो गलत त हुंदै हो, केटीहरुको स्वतन्त्र बृद्धि र विकासमा घातक पनि छ,’ शर्माले भनेकी छिन्।
उनले अब छोरीहरुलाई दोष दिन छाडेर छोराहरुलाई जिम्मेवार बनाउनुपर्ने सुझावसमेत पेश गरेकी छिन्। ‘त्यसैले अब छोरीहरुलाई दोष दिन छाडौं, छोराहरुलाई जिम्मेवार बनाएर हुर्काऊॅं। समय छॅंदै दुवैलाई सुसूचित गरौं ता कि भविष्यमा यस्ता दुर्घटना नहोउन्,’ शर्माले लेखेकी छिन्, ‘बलात्कार सम्बन्धमा बन्दैगरेका यी गलत भाष्य परिवर्तन गर्ने जिम्मेवारी, अब अभिभावक लगायत समाजका गण्यमाण्य जनमत निर्माताहरुमा आएको छ।‘