
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीति तीनजना पूर्वप्रधानमन्त्रीको क्लबजस्तो भएको बताएका छन्। शनिवार नयाँ बानेश्वरमा रामकृष्ण भण्डारीले लेखेको 'सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली' पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्।
थापाले नेपालको पछिल्लो राजनीतिक खेलमा तीनटा पूर्वप्रधानमन्त्रीकोमात्र खेल देख्न पाएको उल्लेख गरेका हुन्। कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लक्षित गर्दै कसले कसलाई छक्याउन सक्यो भन्ने खेल तीन जनामै सीमित भएको बताए।
‘नेपालको राजनीति कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो। कुन चै भूतपूर्व प्रधानमन्त्रील कुन चाहि भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याउनुभयो। आइतवार अर्कोले झुक्याउनुभएको थियो। सोमवार अर्कोले ठहरै पार्नुभो,’ थापाले भने, ‘अस्ति भोट किन हाल्यो होला? भित्रभित्र के भनिरहेको छ। कसको मनमा छैन? म पार्टीको कुरा गरिरहेको छैन। तीनटा भूतपूर्व प्रधानमन्त्री कसले कसलाई छक्याउने कसले कसलाई ढाल्ने, तीनटा भूतपूर्व प्रधानमन्त्रीको क्लबजस्तो।‘
अहिले कुन भूतपूर्व प्रधानमन्त्रीले कुन चै भूतपूर्व प्रधानमन्त्रीलाई फल हाने भन्नेबाहेक केही नसुनिएकोसमेत उनको भनाई थियो। ‘तीनटा प्रधानमन्त्रीको बीचमा खेलझेलमा कुन चै भूतपूर्व प्रधानमन्त्रीले कुन चै भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नुभयो भन्नेबाहेक हामीले केही सुनेका छैनौ,’ थापाले भने।