PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मोरङको सुन्दरहरैंचामा शिल्पीको नाट्यशाला र यसको रचनागर्भ



अनन्तराज न्यौपाने

मोरङको सुन्दरहरैंचामा शिल्पीको नाट्यशाला र यसको रचनागर्भ

विराटनगर : शिल्पी नाट्यसमूहका निर्देशक घिमिरे युवराजका मनमा केही प्रश्नले सधैँ घोचिरहन्छन्, किन संघीय राजधानी काठमाडौंका मानिसमात्र नियमित रूपमा नाटक हेर्न पाउँछन्? किन उनीहरू मात्र सधैँ कविता सुन्न पाउँछन्? किन संघीय राजधानीवासी मात्रै विभिन्न मूर्त–अमूर्त चित्रका अवलोकन गरिरहेका हुन्छन्? किन साहित्य, कला र संस्कृतिका कार्यक्रमहरू केवल काठमाडौँ–केन्द्रित हुने गर्छन्?

पहिलोपोस्टलाई निर्देशक घिमिरेले भने, ‘देशमा राजनीतिक परिवर्तन भयो। केन्द्रीकृत राज्य प्रणालीले विकेन्द्रित स्वरूप ग्रहण गर्‍यो। देश संघीय संरचनामा गयो। सात वटा प्रदेशमा प्रदेश सरकार र अन्य संरचना तयार भएर सञ्चालन पनि भएको ५ वर्ष पूरा भइसकेको छ र ६ वर्ष लागेको छ। तर पनि सबै नेपाली बुढानीलकण्ठका स्तरको विद्यालयमा पढ्न पाउँदैनन्। काठमाडौँ खाल्डोको र बाहिरको स्तरका बिच गहिरो खाडल छ। अनि काठमाडौँको चेतना नै देशको चेतना, काठमाडौँको विकासमात्र देशको विकास र काठमाडौँको अभियानमात्रै देशको अभियान भन्ने अर्थ अझै विद्यमान छ।’

यस्तै–यस्तै धेरै प्रश्न र चिन्तनहरू बोकेर गत वर्ष निर्देशक युवराज मोरङ झरे।

उनले सोचे, मेरा प्रश्नका उत्तरलाई मूर्त रूप दिन विराटनगरमा पो केही गरुँ कि?

लगत्तै उनको अर्को मनले सोध्यो, ‘हैन, विराटनगर पनि राजधानी नै हो नि, प्रादेशिक राजधानी। फेरि पनि किन राजधानीमै सीमित हुनु?’

यसपछि उनी मोरङको मध्यपूर्वतिर लागे। जाँदै गर्दा बाटोमा भेटियो, ‘सुन्दरहरैंचा नगरपालिकाको कार्यालय।’

उनले आफू चढेको ट्याक्सी रोक्न भने। ट्याक्सी रोकियो। युवराज एक छिन टक्क अडिए। उनलाई त्यस कार्यालयभित्र जाउँ कि नजाउँ भयो।

‘कसैलाई नभेट्ने गरी किन भौँतारिएको त’, फेरि उनको अर्को मनले सोध्यो।

नभन्दै उनी कार्यालयभित्र प्रवेश गरे। नगरप्रमुख शिवप्रसाद ढकाल भित्रै थिए।

युवराजले नगरपालिकाले जमिन उपलब्ध गराएमा त्यहाँ साहित्य, कला र संस्कृतिको संरक्षण र संवर्धनका लागि एक नाट्यशालाको निर्माण गर्ने आफ्नो सोच भएको बताए।

नगरप्रमुख ढकालले युवराजको प्रस्ताव तत्काल र सहर्ष स्वीकार गरे। उनले नगरपालिकाले वडा नं. ८ को सलकपुर, फुटबल चौरको उत्तरपट्टिको टोलमा ५ कट्ठा जमिन दिने वचन दिए।

‘मेरो विचार विराटनगर महनगरपालिकाबाहिर जहाँ जमिन पाए पनि नाट्यशालाको निर्माण गर्ने भन्ने थियो’, निर्देशक घिमिरेले भने, ‘संयोगले सुन्दरहरैंचामा जमिन पाइयो। त्यसैले यहीँको योजना भयो।’

युवराजका अनुसार प्रथम चरणमा यस जमिनमा ४ सय १० दर्शक क्षमताको खुला नाट्यशाला (एम्पी थिएटर)को निर्माण गरिनेछ। यसको लागत २२ लाख हुने अनुमान गरिएको छ। यो रकम दानदातव्य र सहयोगबाटै जुटाउने योजना छ।

उनले भने, ‘यो मुक्त रङ्गमञ्चको अवधारणामा बनाइनेछ। यो खुला हुनेछ, बन्द पर्खालले घेरिएको र झ्यालढोका लगाइएको होइन। मुक्त रङ्गमञ्च भए पनि यसमा एक नाट्यशालाका सम्पूर्ण अवयवहरू निहित हुनेछन्। यसमा एक पूर्ण नाट्यशालाकै मूल्य, मान्यता र मर्मअनुसारले प्रकाश, संगीत, ध्वनि र मञ्चव्यवस्थापनको व्यवस्था गरिनेछ।’

युवराजका अनुसार यहाँका बासिन्दाको फुर्सदको क्षण भनेको अपराह्न ३.०० बजेदेखि साँझ परुन्जेलसम्मको हो। त्यसैले यस मुक्त रङ्गमञ्चमा गरिने अधिकांश कार्यक्रम पनि यसै समयमा हुनेछन्।

‘यहाँका किसान आफ्ना खेतबारीमा बिहानभरि काम गरेर घर फर्कन्छन्, अनि खानपिन गरेर एक छिन आराम गर्छन्’, उनले सुनाए, ‘यसपछिको समयदेखि साँझ गाईभैँसी दुहुनु अगाडिको बेला उनीहरूको फुर्सदको क्षण हो। हामी यही समयमा कार्यक्रम गर्ने प्रयत्न गर्नेछौँ। उनीहरूले पनि मुलुकका विविध सिजर्नशील कामहरू हेर्न पाऊन् भन्ने हाम्रो लक्ष्य हो।’

उनले मुक्त रङ्गमञ्चको निर्माण सकिएर यो सञ्चालनमा आएपछि २ सय सिट क्षमताको बन्द रङ्गमञ्चको पनि निर्माण गर्ने योजना रहेको जानकारी दिए।

यस परिसरमा क्याफ्टेरिया र एक सानो बगैँचाको पनि निर्माण गरिने शिल्पीको योजना छ।

सबै संरचनाको निर्माण हुँदा त्यसको कुल खर्च ४ करोड पुग्ने अनुमान गरिएको छ।

‘वरिपरिका ज्येष्ठ नागरिक र युवायुवतीहरू यस ठाउँमा फुर्सदका बेला घुम्न आऊन् भन्ने हाम्रो चाहना छ’, घिमिरेको भनाइ थियो, ‘यसलाई गैरराजनीतिक सार्वजनिक थलोका रूपमा विकास गर्ने योजना छ। हेर्दै जाऊँ।

मुक्त रङ्गमञ्चको शिलान्यास यही माघ ४ गते महानायक राजेश हमालले गर्ने कार्यक्रम छ। साथमा सुगम पोखरेलको साङ्गीतिक प्रस्तुति पनि हुने निर्देशक युवराजले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell