काठमाडौं : विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘प्रसाद २’को छायाङ्कन सकिएको छ। कास्कीको ल्वाङ गाउँमा ३१ दिनमा फिल्मको सुटिङ सकिएको फिल्मका निर्देशक सुदर्शन थापाले जानकारी दिए।
यसैबिच, इन्डक्ल्याप गरिएको दिन निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म आगामी नयाँ वर्ष अर्थात विसं २०८० सालको बैशाख १ गते रिलिज हुनेछ।
यो फिल्म अब झरना थापा निर्देशित ‘भगवत् गीता’ सङ्ग भिड्नेछ। ‘भगवत् गीता’ यसअघिनै नयाँ वर्षमा रिलिज हुने तय भएको छ।
एस.जी फिल्म्स् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ। सुवास थापा कार्यकारी निर्माता रहेको फिल्मको कथा सुशील पौडेलको लेखेका हुन्।
चलचित्रमा विपिन र केकीको साथमा अर्पण थापा, राज कटुवाल, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको अभिनय छ।
यो फिल्म दिनेश राउत निर्देशित चर्चित फिल्म ‘प्रसाद’को सिक्वेल हो। दिनेश राउत निर्देशित ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो।