PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चीनमा एक महिनामा करिब ६० हजार कोभिड १९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

चीनमा एक महिनामा करिब ६० हजार कोभिड १९ संक्रमितको मृत्यु
चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी मेडिकल एडमिनिस्ट्रेसन ब्युरोका प्रमुख जियाओ याहुई। फोटो : china.com.cn

सांघाई: पछिल्लो ३० दिनमा मात्र चीनमा कोभिड १९ सँग सम्बन्धित संक्रमण भएका करिब ६० हजारको मृत्यु भएको छ। चीनको मुख्य भूमिमा डिसेम्बर ८ देखि बिहीबारसम्म ५९ हजार ९३८ जनाको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले शनिबार जानकारी दिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगकी मेडिकल एडमिनिस्ट्रेसन ब्युरोका प्रमुख जियाओ याहुईका अनुसार संक्रमणका कारण श्वासप्रश्वासमा समस्या भएका कारण ५ हजार ५०३ जनाको मृत्यु भएको हो। त्यस्तै अन्य ५४ हजार ४३५ जना  कोभिड-१९ संक्रमितको अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको उनले जानकारी दिइन्। 

उक्त अवधिमा मृत्यु हुनेको औसत आयु ८०.३ रहेको र तीमध्ये ९० प्रतिशतभन्दा बढी दीर्घरोगबाट पीडित रहेको चीनको राज्य परिषद्को कोभिड-१९ नियन्त्रण तथा रोकथाम संयन्त्रले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जानकारी दिइन्। 

'जाडो याम वृद्धवृद्धामा श्वासप्रश्वास र मुटुसम्बन्धी रोगको चरमोत्कर्षमा पनि छ। कोभिड–१९ को संक्रमण फैलिएसँगै वृद्धवृद्धाको मृत्यु दर तुलनात्मक रुपमा ठूलो छ र हामीले वृद्धवृद्धाको सुरक्षा र उनीहरुको जीवन रक्षालाई बढी महत्व दिइरहेका छौं,' उनले भनिन्, 'चीनले वैज्ञानिक र तथ्यमा आधारित तरिकाले कोभिड–१९ सँग सम्बन्धित मृत्युको संकलन र विश्लेषण गर्ने उद्देश्यले रिपोर्टिङ प्लेटफर्म स्थापना गरेको छ । यो प्लेटफर्म डिसेम्बर ३१ देखि प्रयोगमा ल्याइएको थियो ।

यसका साथै देशभरका स्वास्थ्य संस्थाहरूलाई डिसेम्बर ८ देखि २९ को बीचमा भएको मृत्युको विवरण सङ्कलन गर्न र रिपोर्ट गर्न भनिएको थियो।

उनले कोभिड–१९ का कारण मृत्यु हुनेको संख्याको विज्ञानमा आधारित र वस्तुनिष्ठ विवरण प्रस्तुत गर्न विज्ञहरूलाई ठूलो परिमाणको तथ्याङ्क विश्लेषण गर्न केही समय लागेको बताइन् ।

जियाओका अनुसार चीनले कोभिड–१९ को न्युक्लिक एसिड परीक्षणमा पोजिटिभ देखिएका मृत्युलाई महामारीको प्रारम्भिक चरणदेखि नै कोभिड–१९ सँग सम्बन्धित मृत्युको रूपमा गणना गर्दै आएको छ। यो मापदण्ड विश्व स्वास्थ्य संगठन र अधिकांश देशले अपनाएको मापदण्डसँग मिल्दोजुल्दो रहेको उनले बताइन्।

यसैबीच उनका अनुसार चीनका फिभर क्लिनिकमा आउने बिरामीको संख्या घट्दै गएको छ।

मेडिकल एडमिनिस्ट्रेसन ब्युरोका प्रमुख जियाओ का अनुसार देशभर फिभर क्लिनिकमा जानेको  संख्या बिहीबार घटेर ४ लाख ७० हजारमा झरेको छ।

उनले भनिन्, 'सहरी र ग्रामीण दुवै क्षेत्रमा यो गिरावट देखिएको छ ।

फिभर क्लिनिकमा कोभिड–१९ पोजिटिभ केसको पहिचान दर पनि निरन्तर घट्दै गएको छ, जुन डिसेम्बर २० मा ३३.९ प्रतिशत र बिहीबार १०.८ प्रतिशतमा झरेको थियो।

यसका साथै कोभिड–१९ संक्रमणका लागि अस्पताल भर्ना हुने बिरामीको संख्या जनवरी ५ मा १६ लाख २० हजार रहेकोमा बिहीबार घटेर १२ लाख ७० हजारमा झरेको उनले बताइन् ।

चीनले गत डिसेम्बर ७ मा कोभिड-१९ को विरुद्धको 'शून्य कोभिड' नीतिलाई परिवर्तन गर्दै खुकुलो व्यवस्था गरेको छ। सार्वजनिक स्थानमा कोभिड-१९ परीक्षण बिनै जान पाउने व्यवस्था गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय यात्रुमाथि लगाउँदै आएको क्वारेन्टिनको व्यवस्था पनि हटाइएको छ। 

यता पछिल्लो समय चीनमा चिनियाँ नयाँ वर्ष 'वसन्त पर्व'को यात्रा सुरु भएको छ। यो पर्व जनवरी ७ देखि ४० दिन फेब्रुअरी मध्येसम्म चल्ने छ। यस वर्ष वसन्त पर्व जनवरी २१ मा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell