PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्छन् : मुख्यमन्त्री गिरी



पहिलोपोस्ट

चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्छन् : मुख्यमन्त्री गिरी

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना दिँदै चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्ने बताएका छन्।

मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन्।

ज्योतिषिय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा सङ्क्रमण गरेको दिन भएको र सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता पनि छ। समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवं माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ।

‘हर्ष, खुशी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबिच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको छ। मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्नु हामी सबैको दायित्व हो,’ मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ।

लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध भएर लागेको उल्लख गर्दै मुख्यमन्त्री गिरीले समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश भन्ने मूल मन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ अघि बढेको उल्लेख गरेका छन्।

प्रदेश सरकारले लिएको लक्ष्यमा पुग्नका लागि सम्पूर्ण लुम्बिनीवासीको सकारात्मक साथ र सहयोगको पनि आफूले अपेक्षा गरेको उनले बताएका छन्। पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपोस् र सबै नेपालीबिच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम होस् भन्ने उनले कामना समेत गरेका छन्।

लुम्बिनी प्रदेशमा माघी पर्वका अवसरमा भोलि सोमवार पनि सार्वजनिक बिदा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell