
काठमाडौं : पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि उद्धार गर्न गृहमन्त्री रवि लामिछाने निर्देशन दिएका छन्। अहिले सुरक्षाकर्मीहरुले उद्धार तथा खोज गरिरहेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले उद्धार गरिरहेको छ।
आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। जसमा तीन जना बालिबालिकासमेत रहेका छन्। अहिले सबै निकायका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले भने। विमान सेती नदीको खोंचमा खसेको छ। जसले गर्दा उद्धार गर्न पनि केही समस्या भइरहेको छ।
विमान दुर्घटना हूँदा ठूला तीन भागमा टुक्रिएको छ। तीन वटै भागलाई छुट्याएर एकै चोटी तीन वटाबाट नै उद्धार भइरहेको सिडिओ केसीले बताए।
'अहिले तीन वटा भागमा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिलेसम्म ३०/३२ वटा शव भेटिएको जानकारी आएको छ,' सिडिओ केसीले भने।
घटनाको जानकारी लिन गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल दुर्घटनास्थलतर्फ जाने तयारी भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे ब्रिफिङ लिएका छन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित विमानस्थलको कन्ट्रोल रुम पुगेर उनले घटनाबारे ब्रिफिङ लिएका हुन्।