PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

यती एयरलाइन्सको विमान खसेपछि अहिलेसम्म के - के भयो?



पहिलोपोस्ट

यती एयरलाइन्सको विमान खसेपछि अहिलेसम्म के - के भयो?
तस्विर : रासस

काठमाडौं : आइतवार बिहान यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भयो।  ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य विमानमा सवार थिए।

एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। यात्रुमध्ये ३ नवजात शिशु र ३ बालबालिका थिए। विमानमा १० जना विदेशी नागरिक पनि सवार थिए। दुर्घटनामा परेको विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो। 

पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा विमान खसेको हो। खस्नुअघि विमान घना बस्तीको आकाशमाथि हल्लिँदै खसेको भिडियो सार्वजनिक भएको छ। विमान खसेपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्।

मन्त्रिपरिषदको आकस्मिक बैठक

विमान दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

दाहालले सुरक्षाकर्मी र सरकारी निकायलाई प्रभावकारी रुपमा उद्धारमा जुट्न निर्देशन दिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उद्धार कार्यलाई प्रभावकारी बनाउन भनेका छन्।

प्रधानमन्त्री र गृहमन्त्रीलाई कन्ट्रोल रुमबाट जानकारी

प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विमान दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए।

उद्धार समन्वय केन्द्रमा दुर्घटनाबारे प्रचण्ड र लामिछानेले जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   

विमानका तीन टुक्रा

दुर्घटनापछि विमान ठुला तीन भागमा टुक्रिएको छ। तीन वटा टुक्रामै सुरक्षाकर्मी बाँडेर उद्धार भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले पहिलोपोस्टलाई बताए। 

उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिरहेका छन्। स्थानीय पनि उद्धारमा सहयोग गरिरहेका छन्।

घुइँचोले उद्धारमा कठिनाइ

विमान दुर्घटनापछि दुर्घटनास्थलमा स्थानीयको घुँइचो लागेको छ। दुर्घटनास्थल सेती खोंचमा फोटो र भिडियो बनाउनेको अहिले भिड लागेको छ। प्रहरीले भिडका कारण उद्धार कार्य प्रभावित भएको भन्दै सडकबाट मानिसलाई हट्न आग्रह गरिएको छ। 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पनि भिड गरेर उद्धारकार्यमा बाधा नपुराइदिन अनुरोध गरेको छ।

जहाज १५ वर्ष पुरानो

दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि निर्माण भएको पाइएको छ। यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर-७५४ जहाज हो।

७२-२१२ ए प्रकारको यो जहाजले पहिलो उडान सन् २००७ अगस्ट १ तारिखमा गरेको थियो। यतीले नुक एयरलाइन्सबाट यो एटीआर किनेको हो। थाइल्याण्डको नोक एयरले यो एटीआर किङफिसरलाई बेचेको थियो।

भारतको किङफिसर एयरलाइन्सले प्रयोग गरेको यो जहाज सन् २०१३ बाट नुक एयरले प्रयोग गरेको थियो। यतीले यो जहाज सन् २०१९ मार्च २६ तारिखमा किनेको हो। 

'प्राविधिक कारणले दुर्घटना'

काठमाडौंबाट पोखराका लागि उड्के विमान पोखरा अन्तराष्ट्रिय विमानस्थल अवतरण हुने तयारीमा थियो। नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना हुनुअघि अवतरणको अनुमति लिइसकेको बताएको छ।

प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमानमा आकाशमै आगो लागेको जानकारी प्राप्त भएको बताएका छन्।

'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनले भने, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell