
काठमाडौं : सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ। आइतवार बिहान पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो। उक्त बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कन्ट्रोल रुमबाट दुर्घटनाको जानकारी लिएका थिए।
सोमवार शोक विदा
सरकारले सोमवार शोक विदा दिने निर्णय गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृत्यु भएकाहरु प्रति शोक मनाउनका लागि सोमवार विदा दिने निर्णय भएको जानकारी दिए।
यस्तै, यसप्रकारका घटनाबारे विश्वसनीय सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ। मृतकका परिवारलाई शव बुझ्नका लागि सहजीकरण गर्ने पनि निर्णय भएको उनले बताए।
५ सदस्यीय जाँच आयोग
सरकारले विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको हो।
'दुर्घटनाको कारण पहिचान गर्न गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको छ,' पौडेलले भने।
आयोगको संयोजक पूर्व सचिव नागेन्द्र घिमिरे संयोजक छन्। सदस्यमा हवाइ विज्ञ दीपक बास्तोला, सुनिल थापा र हवाइ इन्जिनियर एकराचन थापा छन्। सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने छन्।
छानविन गरेर प्रतिवेदन बुझाउनका लागि ४५ दिनको समय निर्धारण गरिएको छ।
अनिवार्य प्राविधिक जाँच
सरकारले अब हवाइ दुर्घटना हुन नदिनका लागि अनिवार्य प्राविधिक जाँच गर्नुपर्ने व्यवस्था गरेको छ। वायु सेवा कम्पनिले आन्तरिक उडानमा रहेका जहाँचको अनिवार्य प्राविधिक जाँच गर्नुपर्ने व्यवस्था गरेको पौडेलले बताए।
'आगामी दिनमा हवाइ दुर्घटना हुन नदिन सबै वायुसेवा कम्पनिको अनिवार्य प्राविधिक परीक्षण गर्ने निर्देशन दिने। अनुगमन नागरिक प्राधिकरणले गर्ने,' उनले भने।