
काठमाडौं : एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। राष्ट्रिय खेलकुद परिषद्स्थित कभर्डहलमा आज सम्पन्न खेलमा न्यू डाइमण्ड एकेडेमीलाई ३-२ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।
पहिलो सेटमा पुलिसलाई २५-२२ ले हराएको न्यू डाइमण्डले दोस्रो सेटमा २५-१७ को अन्तरले पराजित भएको थियो। त्यस्तै, तेस्रो सेट न्यू डाइमण्डले २५-२७ ले जित्दा चौथो र पाँचौँ सेट पुलिसले २५-१९ र १५-११ ले जितेको थियो।
सेमिफाइनल खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो। एउटै समूहमा रहेको पुलिससँग समूह चरणको खेलमा डायमन्ड पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै, पुलिसले सेमिफाइनलमा ३-२ सेटको संघर्षपूर्ण जित निकालेको थियो।
आजै सम्पन्न तेस्रो स्थानको खेलमा एपीएफले जित निकाल्दै महिला र पुरुष दुवैतर्फ तेस्रो बन्न सफल भएको छ। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ नेपाल पुलिस क्लबलाई हराएर एपीएफ तेस्रो बनेको हो।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमहरुले क्रमशः नगद ४ लाख, २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागततर्फ उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर, प्रशिक्षकले दुवैतर्फ १०/१० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
यस प्रतियोगिताबाट वरीयताको आधारमा पुरुषतर्फ उत्कृष्ट टिम र महिलातर्फ ६ टिमले सातौ आरबीबी एनभीए लिगमा प्रवेश पाउने आयोजकले जनाएको छ।
पुरुषतर्फको फाइनल सुरु हुन लागेको छ।