PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हतारमा सरकारको लतार, विमान दुर्घटनापछि के-के भयो?



प्रकाश भण्डारी

हतारमा सरकारको लतार, विमान दुर्घटनापछि के-के भयो?

काठमाडौं: आइतबार यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारको पहिलो एक्सन थियो- ब्रिफिङ लिने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रमा पुगे, दुर्घटनाको जानकारी लिए।

दुर्घटना हुनसाथ पोखरा जाने र मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउने निर्णय गरे प्रचण्डले। आकस्मिक बैठक बस्यो तर पोखरा जाने योजना स्थगित भयो। सुरक्षा निकायले भीभीआईपी दुर्घटनास्थलमा जान उपयुक्त नहुने रिपोर्टिङ गरे।

भीभीआईपी सवारीले उद्दारमा कठिनाइ हुनसक्ने भएपछि प्रधामन्त्री र मन्त्रीहरु घटनास्थलमा गएनन्।

सरकार तत्काल एक्सनमा उत्रिसकेको सन्देश दिन चाहन्थे प्रधानमन्त्री।

स्वभाविक पनि थियो ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार जहाज दुर्घटना हुदा सरकारले रफ्तार बढाउनु। तर प्रधानमन्त्री र मन्त्रीहरु जति एक्सनमा उत्रिन हतारमा देखिए त्यति नै संयमित भएनन्।

परिणामत: प्रधानमन्त्री र गृहमन्त्रीले दुर्घटनास्थल जाने निर्णय तत्कालै फिर्ता लिनुपर्‍यो।

दुर्घटनामा ज्यान गुमाएकाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णयको पनि आलोचना भइरहेको छ। बिदा दिएर शोक मनाउन उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

सरकारले के-के गर्‍यो?

आकस्मिक मन्त्रिपरिषदको बैठकले दुर्घटनाको कारण र सुझावको लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। डेढ महिनामा प्रतिवेदन बुझाउँन आयोगलाई निर्देशन दिइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए।

मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने, शव लैजान सरकारले सहजीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषदले गर्‍यो। हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको पौडेलले बताए।

दुर्घटनापछि दिनभर के भयो?

यती एयरलाइन्सको विमान काठमाडौंबाट पोखराका लागि उडेको थियो। नागरिक उड्यन प्राधिकरणका अनुसार विमान बिहान १० बजेर ५० मिनेटमा सेती खोंचमा सम्पर्कमा थियो।

‘विमान पोखरा टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात उक्त विमान दुर्घटना भएको,’ प्रधिकरणको विज्ञप्तिमा भनिएको छ।

विमान दुर्घटना भएपछि सर्वसाधारणले विमानमा लागेको आगो निभाउने प्रयास गरेका थिए। दनदनी बलिरहेको आगो सजिलै निभाउन सम्भव भएन।

साँझसम्म ६९ जनाको शव फेला परेको छ भने ३ को अवस्था यकिन भएको छैन। खोजीका लागि गोताखोर परचिालन गरिएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा जुटेका थिए।

५३ नेपाली सवार, ३ शिशु र ३ बालक पनि

विमानमा सवार यात्रुहरुमध्ये ५३ जना नेपाली रहेका छन्। ५ भारतीय, ४ रसियन, २ कोरियन १ अर्जेन्टिनी, १ आइरिस र १ जना फ्रान्सेली रहेको यती एयरलाइन्सले जनाएको छ।

विमानमा ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए।

क्रेनको सहायताले खोजी

बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु  गरि १५ जनाको टोली पोखरा पठाइएको थियो।

सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण क्रेनको प्रयोग गरी उद्धारको प्रयास गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

हेर्नेको भीडले उद्दारमा कठिनाइ

विमान दुर्घटनापछि दुर्घटनास्थलमा सर्वसाधारणको भीड लागेको थियो। भीडका कारण उद्दारमा कठिनाइ भएको सरकारी निकायले जनाएका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पनि भीड गरेर उद्धारकार्यमा बाधा नपुर्‍याइदिन अनुरोध गरेको थियो। दुर्घटनास्थलमा पुग्नेहरुले फोटो र भिडिओ खिचिरहेका तस्बिर सार्वजनिक भइरहेका छन्।

सरकारी निकायका एकपछि अर्को बैठक

सरकारी निकाय विमान दुर्घटना भएपछि एकपछि अर्को बैठकमा जुटेका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जानकारी लिन जुटेका प्रधानमन्त्री र मन्त्री त्यसपछि मन्त्रिपरिषदको बैठकमा सहभागी भएका थिए। मन्त्रिपरिषदको बैठकपछि गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका थिए।

कसरी भयो दुर्घटना?

स्थानीयले खिचेको भिडिओमा जहाज असन्तुलित भएपछि भुँइमा खसेको आवाज सुनिएको छ। प्रत्यक्षदर्शी विष्णुप्रसाद तिवारीले आफूले विमान जहाजको पंखा घुमेको नदेखेको बताए।

‘रंगशाला गेटमाथि आइसकेपछि प्लेन अनब्यालेन्स भएको देखियो। छड्के परेर आएपछि प्लेन आपतकालीन अवस्थामा छ भन्ने लाग्यो। पङ्खा नै घुमेको थिएन,’ तिवारीको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक कारणले जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।

‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।’ दुर्घटना हुनुअघि नै विमानले अवतरणका लागि अनुमति लिइसकेको प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell