PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुजनलाई भेट्न पोखरा उडेका थिए एलेक्जेण्डर, साथीलाई नभेटी भए बिदा



रिना थापा

सुजनलाई भेट्न पोखरा उडेका थिए एलेक्जेण्डर, साथीलाई नभेटी भए बिदा

पोखराः आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो। विमानमा चालक दलका ४ सदस्य र ६८ यात्रु सवार थिए। जसमध्ये १५ विदेशी नागरिक विमानमा थिए। सोही विमानमा सवार थिए फ्रान्सेली नागरिक ६३ वर्षीय एलेक्जेण्डर आइरिडोर। जो पोखरामा भएका आफ्ना साथी सुजन अधिकारीलाई भेट्न। दुई दिनअघि मात्र काठमाडौँ आइपुगेका थिए।

कागजपत्र मिलेसम्म सुजन एलेक्जेण्डरसँगै विदेश जाने योजना पनि थियो। उनी सुजनलाई भेट्न पोखरा आइपुगेका हुन्।

‘उहाँ फ्रान्सको हुनुहुन्छ। त्यति आफनो देशमा बस्नुहुन्न। पासपोर्ट सकिएको हुनाले उहाँ मलेसियाबाट फ्रान्स जानुभयो। त्यसपछि नेपाल आउनुभएको हो। नेपालमा म सँगै हुनुहुन्थ्यो। हामी सम्पर्कमा हुन्थ्यौँ सधैँ। मलेसिया जाने कि उता जाने भन्ने विषयमा मलाई भेट्ने भनेर नेपाल आउनुभएको थियो। दुई दिन अगाडिमात्र काठमाडौँ आउनुभएको थियो,’ सुजनले भने।

तीन वर्ष अगाडि एसईई सकेपछि सुजन लेकसाइडमा काम गर्थे। पोखरा पहिलोपटक घुम्न आएका एलेक्जेण्डरको भेट सुजनसँग लेकसाइडको सडकमा भयो। बाटो अलमलिएर सुजनसँग सहयोग माग्दै थिए एलेक्जेण्डरले। पछि उनै एलेक्जेण्डर सुजनलाई बाटो देखाउन लागे। सुजनको अभिभावक जस्तै बने एलेक्जेण्डर। लेकसाइडमा दुःख गरिरहेका सुजनलाई देखेर उनले सहयोग गर्ने मनासाय बनाए। सुजन र एलेक्जेण्डरबीच बिस्तारै सम्बन्ध सुमुधुर बन्दै गयो। एक-अर्काको निजी समस्या बाँडिन थाल्यो।

‘लेकसाइडमा काम गर्थे त्यो समयमा उहाँसँग भेट भयो। पहिलोपटक उहाँलाई लेकसाइडमा भेट्दा बाटो थाहा भएको थिएन। जानकारी दिँदा चिनजान भएको हो। नेपाल अति मन पराउनुहुन्थ्यो। धेरै जसो मलेसिया बस्नुहुन्थ्यो,’ उनले भने।

यसपाली एलेक्जेण्डर नेपाल घुम्नका लागि मात्र आएका थिएनन्। आफूसँगै सुजनलाई लैजान आएका थिए उनी नेपाल। नेपाल घुमेपछि फ्रान्स नभए मलेसिया जाने उनको योजना थियो। उनीसँगै जाने योजना थियो सुजनको पनि। स्पोन्सर गर्न लागेका थिए एलेक्जेण्डरले सुजनलाई।

‘उहाँ नेपाल घुमेपछि कि फ्रान्स जाने नभए मलेसिया जाने योजना थियो। म पनि उहाँसँगै जाने भन्ने थि । सहयोग गरिरहनुभएको थियो मलाई। स्पोन्सर पाउनुभएको थियो,’ उनले भने।

एलेक्जेण्डरसँगै विदेश जाने सोच बनाएका सुजनको सपना दुर्घटनासँगै सकियो। एलेक्जेण्डरसँग सुजनको अन्तिम कुराकानी विमानको टिकट पाएको खबर सुनाएपछि भएन। बिहान ८:३५ मा विमानस्थल पुगेका एलेक्जेण्डरले सुजनालाई म्यासेज गरेका थिए। पछि विमास्थल पुगेर पोखरा आउने टिकट पाएपछि सुजनलाई खबर गरे। ‘१० बजेको टिकट पाएँ। २५ मिनेटमा पोखरा आइपुग्छु,’ एलेक्जेण्डरले सुजनलाई म्यासेन्जरमा लेखेका थिए।

‘प्लेनको टिकट १० बजेको पाएँ, २५ मिनेटमा आइपुग्छु भनेर म्यासेज गर्नुभएको थियो। मलाई पिकअप गर्न आऊ भन्नुभएको थियो। दुई महिनासम्म नेपाल घुम्ने योजना थियो,’ सुजनले भने।

योजना अनुसार नै सुजन एलेक्जेण्डरलाई लिन एयरपोर्ट पुगे। तर, ल्याण्ड हुनुभन्दा केही मिनेट अगाडिमात्र प्लेन दुर्घटनमा पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell