PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

असुरक्षित आकाशः १०४ वटा दुर्घटनामा ९०० बढीको मृत्यु, कहिले कहिले भए ठूला दुर्घटना?



सहयोग रञ्जित

असुरक्षित आकाशः १०४ वटा दुर्घटनामा ९०० बढीको मृत्यु, कहिले कहिले भए ठूला दुर्घटना?
आइतबार पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाज

काठमाडौं: पोखराको सेती खोंचमा आइतबार यती एयरलाइन्सको 'एटीआर' विमान दुर्घटना भयो। यससँगै नेपालमा विमान दुर्घटनाको संख्या १०४ पुगेको छ।

नागरिक उड्डयन प्राधिकरणको 'एभिएसन सेफ्टी रिपोर्ट-२०२२' का अनुसार पछिल्लोपटक सन् २०२२ को मे २९ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना भएको थियो। सो दुर्घटनामा २२ जनाको निधन भएको थियो। त्यसपछि आज पोखरामा ७२ जना यात्रु सवार विमान दुर्घटना भएको हो।

सो रिपोर्ट अनुसार नेपालमा ४९ वटा मल्टी इन्जिन विमान दुर्घटना भएका छन्। पोखरामा दुर्घटना भएको सिरियल नम्बर-७५४, '७२-२१२ ए' प्रकारको एटीआर विमान डबल इन्जिनको थियो। यसर्थ नेपालमा मल्टी इन्जिन विमान दुर्घटनाको संख्या ५० पुगेको छ।

आइतबार दुर्घटना भएको विमान १५ वर्षअघि 'एटीआर'ले निर्माण गरेको थियो। किङ्फिसर एयरलाइन्स र  नोक एयरलाइन्सले प्रयोग गरिसकेको यो विमानलाई यतीले सन् २०१९ मार्च २६ मा किनेको थियो। त्यसयता यो विमानले निरन्तर नेपालमा आन्तरिक उडान गर्दै आएको थियो।

दुर्घटना प्राविधिक कारणले भएको हुनसक्ने अनुमान गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।'

कस्ता विमान दुर्घटना हुँदा कति भयो मानवीय क्षति?

नेपालमा हालसम्म ८ वटा सिंगल इन्जिन विमान, ३६ वटा हेलिकप्टार र १० वटा विदेशमा रेजिस्टर्ड विमान दुर्घटनाग्रस्त भइसकेको रिपोर्टमा उल्लेख छ। मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनासम्म गरि हालसम्म भएका दुर्घटनाहरुमा नेपालमा ८४७ जनाको मृत्यु भएको रिपोर्टमा उल्लख छ।

आज भएको दुर्घटनामा विमानमा सवार ७२ जना मध्ये ६९ जनाको मृत्यु भइसकेको ‌छ। ४ जना बेपत्ता छन्। यो नै आन्तरिक उडानतर्फ भएको दुर्घटनामा हालसम्म सबैभन्दा बढी क्षति हो। आन्तरिक उडानमा सबैभन्दा ठूलो दुर्घटना रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

आजको दुर्घटनासमेत गरि नेपालमा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९०० भन्दा बढी पुगेको छ।

नेपालमा पहिलोपटक सन् १९६० नोभेम्बर ५ मा पहिलो मल्टी इन्जिन विमान दुर्घटना भएको थियो। भैरहवामा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो। मल्टी इन्जिनतर्फ पनि आजको दुर्घटनामा सबैभन्दा धेरैजनाको मृत्यु भएको छ। यसअघि नेपालमा मल्टी इन्जिन तर्फ भएको दुर्घटनामा सबैभन्दा धरै मृत्यु सन् १९६९ जुलाइ १२ मा भएको थियो। हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो। यस्तै, सन् २००० जुलाइ २७ मा नेपाल एयरलाइन्सकै विमान डेडलधुरामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो। सन् २०१६ मा तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको थियो। सन् २०१० मा ओखलढुंगामा तारा एयर र सन् २०२२ को मे २९ मा तारा एयरकै विमान मुस्ताङमा दुर्घटना हुँदा २२-२२ जनाको मृत्यु भएको थियो।

यस्तै, सन् १९७५ मार्च ३१ मा पहिलो सिंगल इन्जिन विमान दुर्घटना भएको थियो। काठमाडौंको बौद्धमा भएको सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। सिंगल इन्जिनतर्फ नेपालमा हालसम्म ८ वटा दुर्घटना हुँदा सबैभन्दा बढीको मृत्यु सन् १९८१ अक्टोबर ३० मा भएको थियो। नेपाल एयरलाइन्सको चार्टर विमान विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा भएको थियो। सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। हालसम्म नेपालमा ३६ वटा हेलिकप्टर दुर्घटना हुँदा सबैभन्दा धेरैको मृत्यु सन् २००६ मा भएको दुर्घटनामा भएको थियो। सेप्टेम्बर २३ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकप्टर दर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो।

यस्तै, विदेशमा रेजिस्टर्ड विमानतर्फ पहिलोपटक सन् १९५५ अगस्त ३० मा पहिलो दुर्घटना भएको थियो। सिमरामा भएको कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।

अन्तर्राष्ट्रिय विमानतर्फ नेपालमा हालसम्म १० वटा विमान दुर्घटना भएका छन्। यी मध्ये सबैभन्दा बढी क्षति सन् १९९२ मा भएको थियो। ललितपुरको भट्टेडाँडामा सन् १९९२ को सेप्टेम्बर २८ मा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको विमान दुर्घटना भएको थियो। सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो। त्यसअघि सन् १९९२ जुलाइ ३१ मा थाइ एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना भएको थियो। सो दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो।

पछिल्लोपटक अन्तर्राष्ट्रिय विमानतर्फ सन् २०१८ मा मालिन्डो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो। सो दुर्घटनामा कुनै पनि मानविय क्षति भएन। सन् २०१८ मार्च १२ मा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै युएस बंगलाको विमान दुर्घटना भएको थियो। सो विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो।

नागरिक उड्डयन प्राधिकरणले सन् २०२२ को रिपोर्टमै आफ्नो पहिलो लक्ष्यमा आन्तरिक उडानतर्फ हुने विमान दुर्घटनाको 'ट्रेन्ड' घटाउने उल्लेख गरेको छ। प्राधिकरणले २०२३ देखि २०२५ सम्मलाई लक्षित गर्दै नेश्नल एभिएसन सेफ्टी प्लान नेपाल पनि सार्वजनिक गरेको छ। सो रिपोर्टमा पनि आन्तरिक उडानतर्फ हुने दुर्घटना घटाउने मुद्दालाई प्राथमिकतामा राखेको छ।

सरकारले हरेकपटक विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरेको छ। तर कति समितिको प्रतिवेदन नै सार्वजनिक हुनन् भने कतिको प्रतिवेदन कार्यान्वयन मा नै आउँदैनन्।

८ महिनाअघि यतीको भगिनी कम्पनी ताराको जहाज मुस्ताङ जाने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकदलसहित २२ जनाको निधन भएको थियो। त्यो जहाज दुर्घटनापछि पनि अध्ययन समिति बनेको थियो। अध्ययन समितिले प्रतिवेदन दिइसकेको छ। तर अहिलेसम्म पनि सार्वजनिक भएको छैन।

सरकार जहिल्यै पनि छानविन समिति बनाएर पन्छिने गरेको छ। तर, नेपालमा संचालनमा रहेका जहाज कति पूराना छन्? ती जहाजको मर्मत सम्भार कसरी हुन्छ? नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन क्षमता कस्तो छ? लयागतका विषयमा सरकार गम्भीर भएको देखिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell