PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भोलिलाई सारियो सभामुख टुङ्ग्याउने सुदूरपश्चिम प्रदेश सभा बैठक



पहिलोपोस्ट

भोलिलाई सारियो सभामुख टुङ्ग्याउने सुदूरपश्चिम प्रदेश सभा बैठक

कैलाली : सुदूरपश्चिम प्रदेश सभामा सोमबार पनि सभामुख चयनका लागि बोलाइएको बैठक स्थगित भएको छ। राष्ट्रिय शोक परेकाले आज बिहान ९ बजे बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सारिएको हो।

बिहीबारदेखि सभामुख चयनका लागि लगातार प्रयास जारी राख्दा पनि प्रदेश सभामा त्यसको टुङ्गो लागेको छैन। गठबन्धनमा किचलो थपिएपछि दुई पटक निर्वाचन हुँदासम्म प्रदेश सभाले सभामुख पाउन सकेको छैन।

बिहीबार एक मत बदर हुँदा माओवादी केन्द्रका सांसद भीम भण्डारी सभामुख चयन हुनबाट रोकिएका थिए। शनिवार भएको मतदानमा भने सत्ता गठबन्धनको दल नागरिक उन्मुक्ति तटस्थ बसेपछि नेपाली काँग्रेसका सांसद मान बहादुर रावल र भण्डारीले बराबर २२/२२ मत प्राप्त गरेका थिए।

सोमबार शोक बिदा भएकाले सर्वदलीय बैठकबाट प्रदेश सभाको बैठक सारिएको हो। अब मङ्गलवार बिहान १० बजे सभामुख चयनका लागि प्रदेश सभा बैठक बोलाउने सर्वदलीय सहमति भएको छ।

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावल र एमाले-माओवादीका तर्फबाट भीम भण्डारीले मनोनयन दर्ता गराएका छन्। प्रदेश सभा आह्वान भएर पहिलो बैठक बसेको १५ दिन भित्र प्रदेश सभामा सभामुख र उपसभामुखको टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। उक्त समय आज राती १२ बजे सकिनेछ। तर, दलहरूबिच सर्वदलीय बैठकमा आजको दिनलाई राष्ट्रिय शोक परेकाले गणना नगर्ने सहमति भएपछि बैठक भोलिलाई सारिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell