
बुटवल : लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयन गर्न सोमबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ।
दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने प्रदेशसभासभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरू हुने प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए। सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबन्डाअनुसार नेकपा एमालेले मुख्यमन्त्री पाएपछि सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ। माओवादीले पाल्पाको २ (ख) बाट निर्वाचित तुलाराम घर्ती मगरलाई सभामुख बनाउने तयारी गरेको छ। अघिल्लो कार्यकालमा पनि लुम्बिनीमा माओवादीकै सभामुख थिए।
उपसभामुख भने गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ। राप्रपाले गुल्मीकी मेनुका खाणलाई उपसभामुख बनाउने सम्भावना छ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३, लोकतान्त्रि समाजवादी पार्टीका ३ र स्वतन्त्र २ गरि ५८ जना सांसदले सरकारलाई समर्थन गरेका छन्। लुम्बिनीमा नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद रहेका छन्।