PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखराको आकाशमा अस्ताए रुपन्देहीका सिर्जना र गणेश



रमेश पराजुली

पोखराको आकाशमा अस्ताए रुपन्देहीका सिर्जना र गणेश

बुटवल : पोखरामा आइतवार भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परि रुपन्देहीका दुईजनाले ज्यान गुमाएका छन्। रुपन्देहीको सैनामैना नगरपालिका-५ सेरुवाकी जहाज परिचारिका (एयर होस्टेस) २९ वर्षीया सिर्जना होङचुन (थापा) र रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगरनगरका ३६ वर्षीय डा गणेश थापा सेतीको खोंचमा अस्ताएका छन्।

विगत सात वर्षदेखि यती एयरलाइन्समा कार्यरत सिर्जना काठमाडौंमै बस्थिन्। उनी बेलाबेला छुट्टी हुँदा मात्रै आफ्नो घर सैनामैना आउँथिन्। सिर्जना अन्तिम पटक गएको दशैंमा घर आएकी थिइन्। एक हप्ताको बिदामा आएकी उनी घरमा भाइ बिरामी भएका कारण केही दिन बिदा थप गरि काठमाडौं फर्कीएकी थिइन्।

सिर्जनाको आइतवार दुईवटा हवाइ उडानका लागि पालो परेको थियो। बिहान साढे १० बजे काठमाडौंदेखि यति एयरलाइन्सको एटीआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतवार नै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिवार फोनमा आमा खिमिसरालाई बताएकी थिइन्।

फोनमा कुरा गर्दा सिर्जनाले आफूलाई बटुक खान मन लागेको बताएपछि आमा खिमिसरले छोरीलाई मन पर्ने बटुक काठमाडौं पठाउने तयारीमा थिइन्। आइतवार माघे सङ्क्रान्ति परेको थियो। बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउने तयारी हुँदै थियो। तर, उनको दुर्घटनामा निधन भएको खबर पाएपछि आमा अझै बेहोस अवस्थामा छिन्।

आइतवार बिहान ११:३० बजेतिर पोखरामा विमान दुर्घटना भयो भन्ने समाचार जताततै फैलियो। पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उनलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका-५ स्थित सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो। सिर्जनाका छिमेकी जम्मा हुनथाले सिंगो गाउँ नै शोकमा परिणत भयो।

भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी एक्ली छोरी हुन् सिर्जना। उनका तीन दाजुभाइ छन्। उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकीले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिइरहेका छन्।

सिर्जनाले बुटवलस्थित सीसीटी कलेजमा स्नातक तहसम्म अध्ययन गरि काठमाडौंस्थित सहारा इन्टरनेशनल कलेजबाट एयरहोस्टेस अध्ययन गरेकी थिइन्। उनी २०७२ देखि यती एयरलाइन्समा आबद्ध भएकी थिइन्।

यता, रूपन्देहीको तिलोत्तमा-४ डिंगरनगरका डा गणेश थापाको पनि आइतवार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा मृत्यु भएको छ।

पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत ३६ वर्षका डा थापा आइतवार काठमाडौंबाट पोखरा जाँदै गर्दा सेतीको खोंचमा अस्ताएका हुन्। थापाको परिवार काठमाडौंमा बस्दै आएको थियो। उनी परिवारका एक्ला छोरा हुन्।

डा थापाकी बहिनी नाता पर्ने यशोदा रानाका अनुसार गणेशले चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए भने अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गरेका थिए।

पोखरामा काम गर्नुअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा समेत काम गरेका डा थापालाई नजिकबाट चिन्ने रवि रानाले बताए। चिकित्सक समेत रहेकी डा थापाकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी भने काठमाडौंमा बस्थे। श्रीमती महर्जनले काठमाडौंमा एमडी गरिरहेकी छिन्।

बुबा पदम बहादुर बुचा र आमा सूर्यकुमारी बुचाका एक मात्र छोरा थिए डा गणेश। चिकित्सक बन्ने छोराको इच्छाअनुसार बुचा दम्पतीले दुःख गरेर छोरालाई चिकित्सक पढाएका थिए।

आइतवार बिहान १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो। जहाजमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए। दुर्घटनामा जहाजमा सवार ६८ जनाको शव फेला परिसकेको छ। बेपत्ता चारजनाको खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell