PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

परिवारलाई शव दिने प्रक्रिया अझै भएन सुरु, ‘पीडा छ यहाँ, आएर अझै उभिनुपर्ने?’



पहिलोपोस्ट

परिवारलाई शव दिने प्रक्रिया अझै भएन सुरु, ‘पीडा छ यहाँ, आएर अझै उभिनुपर्ने?’

पोखरा : काठमाडौंबाट उडेको यती एयरको विमान हिजो पोखराको सेती खोंचमा खस्यो। ७२ जना सवार सो विमानमा चालक दलका चार जना र ६८ जना यात्रु थिए। हालसम्म विमानमा रहेका ६८ जनाको शव फेला परिसकेको छ। बाँकीको खोजी हुँदैछ।

मृतकहरुको शव केही पहिचान हुने अवस्थामा छन्। केही भने क्षतिविक्षत् अस्थामा छन्। तर, पहिचान भइसकेका व्यक्तिको समेत शव पोष्टमार्टम सुरु हुन सकेको छैन।

अहिले शव बुझ्न मृतकका परिवारहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा छन्। तर, प्रक्रिया लम्बिँदा उपस्थित परिवारजनले नाराबाजी गरिरहेका छन्।

हिजोको विमान दुर्घटनामा २७ वर्षीया सदाकत अलिमियाको पनि मृत्यु भयो। उनको परिवारका सदस्यका अनुसार सदाकतको शवको पहिचान हिजै भइसकेको थियो। तर, अस्पताल प्रशासनले अहिलेसम्म शव बुझाउने प्रक्रिया सुरु गरेको छैन।

सदाकतको शव बुझ्न अस्पताल पुगेका नुरबक्स मियाले भने, ‘शव पहिल्यै सुरुमा पहिचान भएको हो हिजो। टाउकोमा चोट लागेको थियो। ३६ घण्टा भइसक्यो अझै चिनेपछि पनि शव दिएको छैन।’

उनले प्रक्रियाबारे आफूहरु जानकार भएपनि अहिलेमात्र छलफल भइरहेको भन्दै प्रश्न उठाए।

‘प्रक्रिया हुन्छ हामी मान्छौँ चिनेको शव दिए यहाँ भिड हुन्थेन। अहिले बल्ल मिटिङ गर्ने? हाम्रो मर्म अर्को ठाउँमा छ। पीडा छ यहाँ आएर अझै उभिनुपर्ने?’ उनले प्रश्न गरे।

उनीसँगै अन्य मृतक परिवारहरु पनि अस्पताल परिसरमा छन्। उनीहरुको पनि त्यस्तै गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell