PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीमा सभामुख निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी



रमेश पराजुली

लुम्बिनीमा सभामुख निर्विरोध, उपसभामुखमा तीन जनाको उम्मेदवारी

बुटवल : लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवदीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्। सोमवार साँझ ५ बजेसम्म घर्तीकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गरेको छैन।  उपसभामुखमा भने ३ जनाको मनोनयन दर्ता भएको छ। उपसभामुखमा राप्रपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। राप्रपाबाट गुल्मीकी मेनुका खाँण, नेपाली कांग्रेसबाट नवलपरासीका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देहीकी निर्मलादेवी चौधरीको उम्मेदवारी परेको छ।

मंगलबार निर्वाचनको कार्यतालिका छ। कांग्रेसका पाठकको प्रस्तावमा प्रदेशसभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन्। भने, चौधरीको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म बहादुर चौधरी रहेका छन्।

सत्तारूढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत दिएको छ। ‘दुई वटा मन्त्रालयमा सहमति थियो। तर, हामीले भनेको जस्तो भएन, ‘संसदीय दलका नेता चौधरीले भने, ‘हामीलाई माओवादी, एमाले, कांग्रेस सबैको समर्थन मिल्छ।’

मनोनयन दर्ताका लागि आज ५ बजेसम्मको समय तोकीएको थियो। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ। सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने कार्यसूची रहेको छ। सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदले सरकारलाई समर्थन गरेका छन्। लुम्बिनीमा नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एकएक सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell