PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्याङ्जा पुगेकी सबनमलाई पोखरा बोलाएका थिए सदकातले, अहिले शव गृहमा पर्खँदै ...  



रिना थापा

स्याङ्जा पुगेकी सबनमलाई पोखरा बोलाएका थिए सदकातले, अहिले शव गृहमा पर्खँदै ...  

पोखरा : उर्माका लागि मक्का जान लागेकी सानीमा छोड्न गएका थिए सदाकत मियाँ। सानीमाको आफ्नै छोरा भए पनि काठमाडौँ छोड्न सदकात आफैँ पुगे। शनिबार सानीमालाई काठमाडौँ छोडेर आइतबार पोखरा फर्किदैँ थिए। विमानस्थल पुगेपछि माइत गएकी श्रीमतीलाई कल गरेर भनेका थिए,‘११—१२ बजे आइपुग्छु पोखरा, तिमी पनि आऊ है माया।’

स्याङ्जा माइत पुगेकी श्रीमतीलाई बोलाएर सदाकत पोखरा आइपुगेनन्। पोखरा त आइपुगे तर बेजान। आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनमा २७ वर्षका सदाकतले घटनास्थलमा ज्यान गुमाए।

‘म आउँछु, तिमी आऊ है माया, भनेर खबर गर्नुभएको थियो। नानीले पनि अंकल ज्वाइँ आउँदै हुनुहुन्छ। पोखरा जानुपर्यो ट्याक्सी भन्नपर्यो भनिन्। एकछिनपछि ज्वाइँको फोन लागेन भनेर आत्तिदा एयरलाइन्स यस्तो भयो भन्ने भयो। होइन भन्दा साँच्चैको भयो। रोएर विक्षिप्त छ,’ सदाकतकी आफन्त सायराले भनिन्।

श्रीमती सबनमलाई छिटो भेट्छु भन्दै वाचा गरेर सदाकत पोखरा विमानस्थल झर्नै पाएनन्। यती एयरको विमानसँगै सेती खोंचमा सदाका लागि नफर्कने गरी बिदा भए। पश्चिमाञ्चल अस्पतालको शवगृहमा उनको शव लिन सोमबार साँझसम्म पनि पालो पर्खिदै थिए आफन्त।

सदाकतको शव सनाखत घटनास्थलमा भइसकेको थियो। तर, कागजी प्रक्रियाका कारण सोमबार साँझसम्म पनि परिवारले उनको शव बुझ्न पाएनन्। साँझमात्र उनको शवको पोष्टर्माटम सुरु भएको थियो। शव बुझ्न अस्पताल परिसरमा कुरेका आफन्त पीडामा थिए। थप पीडा ढिलाई भएको प्रशासनिक प्रक्रियाले दिएको थियो।

घरका एक्लो छोरा थिए सदाकत। विवाह भएको भर्खर साढे तीन वर्षको भएको छ। दुईवर्षकी छोरी नुरा छिन् उनको। छोरीकै नाममा व्यवसाय सञ्चालन गरेका थिए सदाकतले। सदाकतको वियोगमा परिवार विक्षिप्त छ। कोही पनि अस्पताल परिसरमा आउनेगरेर आफूलाई सम्हाल्न सकेका छैनन्।

‘एक्लो छोरा उर्माको लागि सानीमा छोड्न जानुभएको थियो। फर्किएर आउँदा यस्तो भयो। हिजोबाट रोइराखेको छ नानी। २३ वर्षको त भयो बल्ल। छोरीपनि छ गुँडिया जस्तो छ। कति राम्रो फेमलि थियो,’आँखाभरि आँसु पार्दै सायराले भनिन्।

दुईवर्षकी छोरीले आमाको रोइरहेको देखिरहेकी छिन्। बेलाबेला छोरी पनि रुन्छिन्,‘बाबा खै, बाबा खै?’

दुई वर्षकी नुरालाई थाहा छैन उनका बाबा सदाकत कहिल्यै फर्किएर आउने छैन। सबनम बुझ्छिन् सदाकत पर गइसके। मन बुझाउन सकेकी छैन।

‘छोरी बाबा खै भन्दै रोइछिन् अहिले के बुझिन होला र २ वर्षकी छोरीले। भेट्न जाँदै हो। सम्झाएर हुँदैन यस्तो बेलामा। यहाँ शव दिन अझै समय लाग्ला उता रोएर बेहाल छ,’ सायराले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell