PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

शोकाकुल छ पश्चिमाञ्चल अस्पताल परिसर, शव बुझ्न नपाउँदा आफन्त थप पीडामा



रिना थापा

शोकाकुल छ पश्चिमाञ्चल अस्पताल परिसर, शव बुझ्न नपाउँदा आफन्त थप पीडामा

पोखराः पोखरा विमान दुर्घटनामा परेका मृतकका आफन्त शव छिटो पाउने आशमा छन्। शवको प्रतीक्षा गरिरहेका आफन्तको भीड छ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा। आँखा रसाएका छन् सबैका।

अन्तर्राष्टिय विमानस्थल सञ्चालनमा आएको खुसी नसकिँदै पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भयो। ७२ जना सवार रहेको विमानमा ७१ जनाको शव भेटिएको छ। सेती खोँचमा दुर्घटनामा परेको विमान भौगोलिक असहजताले उद्दारमा खटिएको सुरक्षा टोली एक यात्रुले अझै भेटेको छैन। सोमबार साँझसम्म सङ्कलन भएको शव अस्पताल पुर्‍याइएको छ।

परिवारले शव सनाखत गर्दै छन्। २४ जनाको शव पोखरामा नै पोस्टमार्टम हुने भएको छ। बाँकी काठमाडौँ लगिने भएको छ।

शव सनाखत भए पनि प्रशासनिक प्रक्रिया मिलाउन ढिलाई हुँदा परिवारले शव बुझन पाएका छैनन्। आइतबारदेखि अस्पताल परिसरमा प्रतीक्षामा बसेका आफन्त घरिघरि आक्रोश पनि पोख्दै थिए। आफन्त वियोगमा रेहकाकाहरु बेला-बेलामा सुरक्षाकर्मीलाई आक्रोश पोख्दै नाराबाजी गर्दै थिए।

आफन्त गुमाउनुको पीडा हुँदाहुँदै शव बुझ्न भइरहेको ढिलाइले आफन्त थप पीडामा छन्।

दुर्घटनामा ज्यान गुमाएका सदाकत मियाँका आफन्त पनि शव बुझ्न नपाएको गुनासो पोख्दै थिए। उनको शव घटनास्थलमा नै सनाखत भइसकेको थियो।

सदाकतका आफन्त नुरबक्सकले शव बुझाउन ढिलाई भएकोमा गुनासो पोखे।

‘प्रक्रिया हुन्छ हामी बुझ्छौँ। चिनेको शव दिए यहाँ भीड हुन्थेन। अहिले बल्ल मिटिङ गर्ने रे,’ आँखाभरि आँसु पार्दै भने।

सदाकतको शव पोखरामा नै पोस्टमार्टम हुने भएको छ।

शव गृहको अगाडि सुरक्षा टोलीले घेरा दिएर सुरक्षा गरिरहेको छ। एकफेरमा एक जनामात्र परिवारलाई शव सनाखतको लागि भित्र जान अनुमति दिइएको छ। सोही घेराको अगाडि आफन्त उभिँदै पालो फर्खिरहेका थिए। भित्रबाट बेलाबेला सूचना दिन माइकिङ हुन्थ्यो। अब त शव बुझ्न पाइन्छ कि भन्ने आशामा झन झुम्मिन्थे आफन्तको सुरक्षाको घेराको अगाडि। कागजी प्रक्रिया अगाडि बढ्दै छ धैर्य गर्न अनुरोधको माइकिङ सुनेपछि पीडामा रहेका आफन्त दुखेसो पोख्दै कराउँथे।

‘कि सास ल्याइदे होइन भने हाम्रो आफन्तको शव बुझाइदे। हिजोदेखि छौँ हामी। तिमीहरुले नचिने हाम्रो मान्छे हामी चिन्छौँ। अझै मान्छे निकाल्न सकेको छैन। हामी नै खोज्न जान्छौँ,’ भारी गला बनाएर कराउँथे आफन्त सुरक्षाकर्मीलाई।

अस्पतालकै अर्को छेउमा रहेको सानो बेन्चमा बसेर रुँदै थिइन संगीता शाहीकी आमा। माघे संक्रान्ति मनाउन लाहाचोक रहेको मामाघर घुम्ने योजना बनाएर २२ वर्षीय संगीता पोखरा आएकी थिइन आइतबार। मामाघर पुग्न नपाउँदै सेतीको खोँचमा अस्ताइन संगीता। दुर्घटनाको खबर पाएपछि काठमाडौँबाट बाबा र आमा आइपुगेका थिए पोखरा। एक्ली सन्तान रहेकी संगीताको मृत्युले आमालाई विक्षिप्त बनाएको थियो। बाबा सम्हाल्न खोज्दै थिए उनलाई। आफैँलाई सम्हाल्न नसकेको अवस्थामा संगीताकी आमाको हात समाउँदै सहारा दिएका थिए उनले।

अस्पताल परिसरको बीचमा एउटा भीड थियो भारतीय नागरिकका आफन्तको। सञ्जय जैसवालका आफन्त थिए त्यहाँ। सुत्केरी दिदीलाई भेट्न पोखरा आएका सञ्जय अस्पताल त पुगे तर, दिदी नितुलाई भेट्न पाएनन्। दिदीलाई सुत्केरी व्यथा लागेको थाहा पाएपछि काठमाडौँबाट पोखरा हिँडेका थिए उनी। दिदीले पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा शिशुलाई जन्म दिएकी छिन्। अस्पतालकै अर्को कुनामा उनलाई भेट्न आएका भाइ मृत अवस्थामा छन्। आमा बनेको खुसीमा रहेकी उनकी दिदीलाई थाहा छैन भाइ सोही अस्पतालमा मृत छ।

नितुका श्रीमान् विकासलाई थाहा छैन भेट्न आएको उनको भाइ सधैंको लागि बिदा भयो कसरी भन्ने। शवलाई पोखरामा नै बुझन खोजेका आफन्त दिनभर अस्पताल परिसरमा नै पर्खिएर बसेका थिए। तर, उनको शव पोस्टमार्टमका लागि काठमाडौँ लगिँदै छ।

दुर्घटनाको खबर पाएपछि अस्पताल परिसरमा आइपुगेका परिवारको अवस्था भावविह्वल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell