PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

जनतालाई शोक, नेतालाई सत्ताको भोक!



प्रकाश भण्डारी

जनतालाई शोक, नेतालाई सत्ताको भोक!

काठमाडौं: सरकारको निर्णय अनुसार सोमबार शोक बिदा हो। यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटना भएपछि सरकारले बिदाको निर्णय गरेको थियो।

‘राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ आइतबारको आकस्मिक मन्त्रिपरिषद्को बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भनेका थिए।

शोक मनाउन बिदा दिएको भए पनि दलका शीर्ष नेताहरू भने सत्ताको भागबन्डामै व्यस्त भए। शोकको औपचारिकता भने उनीहरूले आइतबारै विज्ञप्ति जारी गरेर गरिसकेका छन्।

शोकमा बिदा दिनु उपयुक्त नभएको भन्दै सरकारको आलोचना आइतबारै सुरु भइसकेको थियो। तर सरकारले बिदा फिर्ता लिन आवश्यक देखेन। ७२ जना सवार विमान दुर्घटनाले आफन्त विक्षिप्त र दुःखद् घटनाले सबैलाई शोक हुनु स्वाभाविकै हो। तर सरकारले भने जसरी नै सरकारका अन्य कामकाज ठप्प भए पनि भागबन्डा र राजनीतिक घटनाक्रम भने रोकिएनन्। बरु चर्कोसँग अघि बढे। किनभने संघदेखि प्रदेशको राजनीतिक माहौल तातिने गरी नेताहरू एक पछि अर्को बैठकमा जुटिरहे। प्रदेश पनि शोकका बेलामा पनि राजनीतिक घटनाक्रमले तातिरह्यो।

हिजो दुर्घटनाको आज राजनीतिको ब्रिफिङमा प्रचण्ड

आइतबार दुर्घटना हुनासाथ प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाको जानकारी लिएका थिए। तर सोमबार उनी राजनीतिको ब्रिफिङ लिन र दिन बालकोकट गए। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटको भेट लामो रह्यो। बिहानै बालकोट लागेको प्रचण्ड अपराह्न मात्रै बालुवाटार फर्किए।

बालकोटको भेट भागबन्डाकै लागि थियो। ‘आजै टुंगिन्छ। भोलि विश्वासको मत दिने पार्टीहरूको मिटिङ छ,' मन्त्रिपरिषद् बिस्तारबारे प्रचण्डले भनेका थिए।

प्रचण्डपछि उपप्रधानमन्त्री विष्णु पौडेल निस्किए। उनले बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको जानकारी दिए। भागबन्डाको छिनोफानो उच्चस्तरीय संयन्त्रले लगाउने पौडेलले बताए। त्यसपछि प्रचण्ड र ओली बालुवाटार लागे।

बालुवाटारमा ५ दल

बालुवाटारमा सत्ता गठबन्धनमा रहेका ५ दल जुटे। प्रचण्ड, ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा जुटे। उनीहरू बालुवाटारमा सत्ताको लागि भागबन्डा गरिरहँदा माइतीघर र वसन्तपुरमा भने विमान दुर्घटनामा मृत्यु भएकाको चिर शान्तिको कामना गरेर दीप प्रज्वलन भइरहेको थियो।

शीर्ष नेता राजनीतिक गतिविधिमा केन्द्रित भइहदा दुर्घटनास्थलमा हराइरहेकाहरूको खोजी जारी रह्यो। १ जना अझै भेटिएका छैनन् उक्त हवाईजहाज दुर्घटनामा परेकामध्ये।

प्रदेशमा के के भयो?

सोमबार वाग्मती प्रदेशको उपसभामुखमा एमालेकी उम्मेदवार अप्सरा चापागाईँ निर्वाचित भएकी छन्। प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेकी उम्मेदवार चापागाईँ उपसभामुखमा निर्वाचित भइन्।

११० सदस्यीय प्रदेश सभामा उनले ६१ मत पाउँदा विपक्षमा ३९ मत परेको थियो भने ७ जना प्रदेश सभा सदस्य तटस्थ बसेका थिए। २ जना भने मतदानमा सहभागी भएनन्।

सोमबार शोक भए पनि लुम्बिनीमा पनि राजनीतिक गतिविधि तीव्र भए। लुम्बिनी प्रदेशको सभामुखमा नेकपा (माओवादी) का तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्। सोमबार साँझ ५ बजेसम्म घर्तीकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपसभामुखमा भने ३ जनाको मनोनयन दर्ता भएको छ। उपसभामुखमा राप्रपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गरे।

शोकमा पनि सत्ताकै खेल

हुन त शीर्ष नेताहरूलाई राजनीतिक हिसाबले चटारो छ नै। किनभने ५ गतेका लागि प्रतिनिधि सभाको सभामुखको निर्वाचन तोकिएको छ। त्यसअघि नै भागबन्डा मिलाएर उम्मेदवारी दिनुपर्ने बाध्यतामा दलहरू छन्। तर शोक बिदा दिएर नेताहरू भने धमाधम राजनीतिक गतिविधिमा मात्रै सक्रिय हुँदा सोमवारको सार्वजनिक बिदा केवल औचित्यहीन साबित भएको छ। किनभने सोमबार घटनास्थल, अस्पताल र विमानस्थलमा मृतकका आफन्तहरूको क्रन्दनले माहौल भावविह्वल थियो। आफन्तले शव चाँडो पाउनुपर्ने भन्दै नाराबाजी नै गरेका थिए पश्चिमाञ्चल अस्पतालको शव गृहमा।

आइतबार तातिएको सरकार सोमबार मौन

आइतबार दुर्घटना हुनासाथ प्रधानमन्त्री र मन्त्री दुर्घटनास्थलमै जाने तयारी भएको थियो। तर सुरक्षा निकायले भिभिआइपीको सवारी दुर्घटना स्थलमा जान अनुपयुक्त हुने रिपोर्टिङ गरेपछि उनीहरूको योजना स्थगित भयो।

आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्नेदेखि साँझ गृह मन्त्रालयमा बैठक बसेको थियो। उक्त बैठकले कसरी सरकारी निकायबिच समन्वयन गर्ने भन्नेबारेमा छलफल गर्‍यो। हिजो नै सरकारले छानबिनका लागि जाँच आयोग समेत गठन गर्‍यो। आइतबार एकाएक तातिएको सरकार सोमवार भने दुर्घटनाबारे भन्दा राजनीतिबारे केन्द्रित रह्यो। किनभने दिनभर सत्ता गठबन्धनको भागबन्डाबारे छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell