PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नेपालमा हवाई दुर्घटना: पूर्वाधार सुधारको आवश्यकता, छानबिन गर्ने टोलीको दक्षतामै विज्ञहरुको प्रश्न



पहिलोपोस्ट

नेपालमा हवाई दुर्घटना: पूर्वाधार सुधारको आवश्यकता, छानबिन गर्ने टोलीको दक्षतामै विज्ञहरुको प्रश्न
आइतबार पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाज

७२ जनाको ज्यान जाने गरी आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि देशको उड्ययन पूर्वाधारको सुधार आवश्यक रहेको विज्ञहरुले बताएका छन्। यसका लागि नियामक निकाय एक भएर काम गर्नुपर्ने वा अर्को यस्तै भयानक दुर्घटनाको पर्खिनुपर्ने बताएका छन्। 

नेपालमा भएका हवाई दुर्घटना मध्ये तीन दशकयताकै घातक दुर्घटना हो। 

'नेपालमा विमान उडाउनको लागि फरक स्तरको चेतना चाहिन्छ,' रोयल एरोनटिकल सोसाइटी युकेका सदस्य तथा एसियाको लागि मार्टिन कन्सल्टिङ एण्ड एभिएसन सेफ्टी फर्मका सीईओ मार्क डी मार्टीनले साउथ चाइना मर्निङ पोस्टसँग भनेका छन्। 

तर पनि नेपालका पाइलटहरुमा आश्चर्यजनक कुशलता रहेको भन्दै उनले गहिरो छानबिन नगरी पाइलटको त्रुटिलाई दोष दिनु गलत हुनेसमेत बताएका छन्। 

उनले विश्वव्यापी उड्ययन निकरानीकर्ताहरुले नेपाललाई एयरलाइन्स पूर्वाधार सुधार गर्न सहयोग गर्नुपर्ने उनले बताएका छन्। 

'दुर्घटनाको नेपाल नागरिक उड्डयन प्राधिकरणले मात्रै होइन, सुरक्षा नियमनमा अग्रपङ्क्तिमा रहेको युरोपेली युनियन सेफ्टी एजेन्सीले पनि अनुसन्धान गर्नु अत्यन्तै महत्त्वपूर्ण छ,' मार्टिनले भने, 'पूरा विचार भनेको दुर्घटनाको कारण पत्ता लगाउनु हो ताकि हामी अन्य दुर्घटना रोक्न सक्छौं। नेपालसँग आवश्यक पर्ने बृहत् अनुसन्धान गर्ने क्षमता नहुन सक्छ।'

भारतीय नागरिक उड्ययनका पूर्वमहानिर्देशक एचएस खोला नेपालले प्राविधिक प्रणालीलाई सुधार गर्नुपर्ने बताउँछन्। उनले पूर्व सतर्कता प्रणाली र एयर ट्राफिक कन्ट्रोलमा सुधार गर्नुपर्ने बताए। 

'पहाडी क्षेत्रमा मौसम सामान्यतया समस्या हुन्छ। जमिनबाट विमानसम्मका सञ्चार सङ्केत हिमाल हुँदै सहज रूपमा जान सक्दैनन्,' उनले भने, 'कहिलेकाहीँ सञ्चारको दायरा २ किलोमिटर देखि ३ किलोमिटरसम्म कम हुन सक्छ। सबैभन्दा ठूलो प्रकोप सामान्यतया खराब मौसम वा दोषपूर्ण प्राविधिक प्रणालीको कारणले हुन्छ, जसले गर्दा विमान धेरै चाँडो तल खस्छ र ल्यान्डिङ गियरमा क्षति पुग्छ। पखेटामा राखिएको इन्धनले आगो समातेर इन्जिनमा फैलिन सक्छ।'

यस्तै आफतकालीन अवतरणका क्रममा २०१२ को सेप्टेम्वरमा सीता एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो। 

नेपालमा हवाइ दुर्घटनाको इतिहास 
नेपालमा सन् १९४६ यता ४२ वटा हवाइ दुर्घटनामा मानवीय क्षति भएको फ्लाइट सेफ्टी फाउन्डेसनको तथ्यांकमा उल्लेख छ। एभिएसन सेफ्टी डाटावेसका अनुसार नेपालमा पहिलो दुर्घटना १९४६ को मे ७ मा सिमरा एयरपोर्टमा आरएएफको विमान दुर्घटना भएको थियो। त्यस दुर्घटनामा मानवीय क्षति भने भएको थिएन।

त्यसको झण्डै १० वर्षपछि १९५५ अगस्ट ३० मै सिमरा विमानस्थलमा कलिंगा एयरलाइन्सको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो। त्यसैको अर्को वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्डियन एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। त्यसैको दुई वर्षपछि इन्डियन एयरलाइन्सकै विमान १९५८ मार्च २४ मा काठमाडौं नजिकै दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

एभिएसन सेफ्टी डेटावेसको तथ्यांकमा नेपालमा भएका ६८ दुर्घटनाको तथ्यांक उल्लेख छ। यी दुर्घटनामा परेर हालसम्म ८८३ जनाको मृत्यु भएको छ। आइतबार पोखरामा भएको दुर्घटना तीन दशक यताकै सबैभन्दा ठूलो दुर्घटना हो। 

तीन दशक अगाडि पाकिस्तान एयरलाइन्सको विमान १९९२ सेप्टेम्वर १८ मा भट्टेडाँडामा दुर्घटना हुँदा १६७ जनाको मृत्यु भएको थियो। त्यस्तै १९९२ कै जुलाई ३१ मा थाइ एयरवेज इन्टरनेशनलको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो। 

आइतबारको दुर्घटना नेपाली आकाशमा भएको तेस्रो ठूलो र आन्तरिक उडान तर्फको पहिलो ठूलो मानवीय क्षती भएको दुर्घटना हो। यसअघि २०१८ मार्च १२ मा त्रिभुनव विमानस्थलमा युएस-बांगलाको विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो। 

आन्तरिक तर्फ २०२२ मे १९ मा तारा एयरको विमान सानो स्वारेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो। त्यस्तै म्याग्दीको दानामा २०१६ फेब्रुअरी २४ मा तारा एयरकै विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो। 

तारा एयरकै विमान सिरी चौरमा दुर्घटना हुँदा २०१० डिसेम्बर १५ मा २२ जनाको मृत्यु भएको थियो। यती एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो। यती समूहको यती एइरलाइन्स दुर्घटनामा परेर १०२ जना। त्यस्तै यती समूहकै तारा एयर दुर्घटनामा परेर ६७ जनाको मृत्यु भएको छ। 

नेपाली वायु सेवा कम्पनीहरु युरोपियन युनियनको कालो सूचीमा विगत १० वर्ष देखि छन्। गत वर्षको छलफलपछि नेपाल कालोसूचीबाट हट्न सक्ने संकेत देखिएको थियो। यस दुर्घटनाले थप संकटमा पर्ने देखिन्छ। सन् २०१० देखि ०१२ सम्म नेपालमा भएका ५ हवाइ दुर्घटनामा आफ्ना धेरै नागरिकको मृत्यु भएपछि युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राखेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell