
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मंगलवार १ बजे मन्त्रीहरुको शपथ गर्नेगरि सोमवार मन्त्रालय बाँडफाँट भएको थियो।
सरकारमा आवद्ध नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबिच मन्त्रालय बाँडफाँटमा सोमवार सहमति भएको हो। सत्ता गठबन्धनले मंगलवार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डाको टुंगो पनि लगाएका छन्।
जसअनुरुप पाँचै वर्षको लागि एमालेले राष्ट्रपति र माओवादी केन्द्रले उपराष्ट्रपति पाउने भएका छन्। त्यस्तै, प्रधानमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको बताइएको छ।
हाल माओवादी केन्द्रबाट प्रचण्ड प्रधानमन्त्री हुँदा एमालेले सभामुख पाउने सहमति भएको छ। त्यस्तै, रास्वपाले उपसभामुख पाउनेछ।
मन्त्रालयको हकमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउनेछ। माओवादी केन्द्र भने भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन लिनेछ।
त्यस्तै, रास्वपाले गृह, शिक्षा र श्रम पाउनेछ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद पाउनेछ। यता, जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको छ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ। तर, उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ।
नेपाली कांग्रेसलाई पनि महत्वपूर्ण पद दिनुपर्ने प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको बताइएको छ।