PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु



रासस

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा : सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान-३ पुरानो बजारमा सोमवार सिटी सफारी दुर्घटना हुँदा धरान-१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १-०२-००३ह २६५५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो। सिटी सफारी र चालक धरान-११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन्।

त्यसैगरी, बराहक्षेत्र-७ बत्तीस आरडीस्थित सुनसरी-मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल)को निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए। बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दीप प्रज्ज्वलन

आइतवार पोखरामा विमान दुर्घटनामा परी निधन भएकाको सम्झानमा सोमवार साँझ सुनसरी सदरमुकाम इनरुवा दीप प्रज्ज्वलन गरिएको छ। सुनसरी सदमुकाम इनरुवा-१ स्थित लोकतान्त्रिक चोकमा समाज कल्याण युवा क्लबको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने उद्देश्यले दीप प्रज्ज्वलन गरेको हो। कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, चन्दन यादव, विवेक साहलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell