PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुदन किरातीलाई बिरामी बुवाको प्रश्न : मन्त्री चाँहि कसरी भइस्, साँच्चै हो कि सपना हो?



पहिलोपोस्ट

सुदन किरातीलाई बिरामी बुवाको प्रश्न : मन्त्री चाँहि कसरी भइस्, साँच्चै हो कि सपना हो?

काठमाडौं : विस्तारित मन्त्रिपरिषद्मा माओवादीबाट सुदन किराती पनि मन्त्री बन्दैछन्। तीन पटक सांसद बनिसकेका किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउँदैछन्।

भोजपुरबाट निर्वाचित भएका उनले आफ्ना ७५ वर्षे बुवा हर्कबहादुरसँग मन्त्री बन्दै गरेको खबर सेयर गरे। यही संवाद सुदनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।

'डाँडाको जुन घामजस्तै बुवासँग कुराकानी' भन्दै उनले बिरामी बुवासँग आफ्नो खुसी साटेका छन्। सुदनको आमा केही समयअघि नै दिवंगत भएका हुन्। यसबारेमा पनि सुदनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्। आफ्नो वंशबाट अहिलेसम्म वडाध्यक्षसमेत नभएको अवस्थामा मन्त्री बनेकोमा उनको बुवा खुसीले गदगद भएको यो संवादबाट पुष्टि हुन्छ। 'हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं राम्रो गर्नु,' बुवाले आशीर्वाद दिँदै गरेको कुरा सुदनले सेयर गरेका छन्।

आमाले भने आफू मन्त्री बनेको देख्न नपाएकोमा दुखी सुनिन्छन् सुदन। 'आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए,' सुदनले आफ्नो बुवासँग दुखेसो पोख्छन्।

बुवाले सुदनलाई सम्झाउँछन्, 'म गए पछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला।'

लगत्तै बुवा र आफू सँगै रोएको सुदनले उल्लेख गरेका छन्।

जेलमा भेट्न आइपुग्दा पनि बुवा धेरै रोएकोसमेत सुदनले उल्लेख गरेका छन्। 'बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो,' उनले भनेका छन्, 'आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक।'

सुदन र उनका बुवाबीच भएको कुराकानी

सुदन - बुवा म मन्त्री हुने भएँ छु।

बुवा - हँ! होइन कुन मन्त्री? राम राम राम साँच्चै हो? होइन यो सपना हो कि विपना हो?

सुदन - हो बुवा साँच्चै हो विपना नै हो। ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )

बुवा - मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस?

सुदन - पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्‍यो।

बुवा- राम राम राम! म उहिले फोक्लेण्डको लडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे!

सुदन - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो .........।

बुवा- हाम्रो बंशमा वडा अध्यक्षसम्म कोही भएनौं राम्रो गर्नु।

सुदन - पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए ......।

बुवा - म गए पछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला। बुवा रुनु भो ! म .........! सम्झे!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell