के लत् बस्यो मलाई
कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा
यो दिल बिमार हुन्छ
माथिको गजलका अंशहरु अहिले टिकटकमा भाइरल भइरहेको छ। युट्युबदेखि अन्य सामाजिक सञ्जालमा पनि गजल ‘के लत लाग्यो’ चर्चामा छ। चारदिन अघि ‘तिलक सिंह पेला’ युट्युब अकाउण्टमार्फत सार्वजनिक भएको यस गजललाई दर्शकले निकै रुचाएका छन्। समाचार तयार पार्दलसम्म २ लाख भन्दा बढीपटक हेरिएको गजलको शब्ददेखि स्वर र संगीतको चौतर्फी तारिफ भइरहेको छ।
गजलकार डा. प्रदिप मैनालीले लेखेको यस गजलमा तिलक सिंह पेलाको स्वर र संगीत रहेको छ। रिदम कँडेलले गजल गीतको एरेन्ज गर्नुका साथै रेकर्डिङ्ग गरेका हुन्।
साहित्यकर्मी र कलाकारहरुले पनि यस गजलको खुलेरै प्रंशसा गरिरहेका छन्। गायक पुष्पन प्रधानले यस गजलको तारिफ गर्दै पेलालाई नेपाली संगीतको अद्भूत आवाजको संज्ञा दिएका छन्।
‘अमृत जस्तै चोखो, फूल जस्तै कोमल, मखमल जस्तै न्यानो, केही अद्भूत एउटा आवाज, एउटा छुट्टै स्वाद, मिठास र स्तर बोकेको केवल गीत सङ्गीत र आवाजकै भरमा हुरक्कै, भुतक्कै, ठहरै बनाईदिने, अलौकिक आनन्द दिने र सोच्न, उनलाई खोज्न बाध्य बनाईदिने एकजना सर्जक, साधक, गायक, नेपाली सङ्गीत संसारले पाएको छ।’ उनले लेखेका छन्।
गीतकार भुपेन्द्र खड्काले पनि यस गजललाई दशककै उत्कुष्ट गजल भनि ट्विटरमा लेखेका छन्। उनले यस गजललाई स्वर, संगीत, रचना र संगीत संयोजनकको अनुपम नमुना भएको उल्लेख गरेका छन्।
त्यसैगरि, हास्यकलाकार मनोज गजुरेलले पनि गजलको तारिफ गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘बजारमा हजार गजल आउँछन् तर सय/पचासमात्र चर्चित हुन्छन। 'नचर्चित' जति सबै 'नसुन्नलायक' हुँदैनन्। केहीले मस्तिष्क छुन्छन्। केहीले मन बहलाउँछन। अनि केहीले हृदय छुन्छन! यो एउटा त्यस्तो गजल हो जसले मन, मस्तिष्क र हृदय एकैपटल 'अल्हादित' गराउँछ। शब्द, सङ्गीत र स्वरको त्रिवेणी 'के लत बस्यो!'
p>
त्यसैगरि, गजलकार प्रदिप रोदन र कलाकार सोविता सिंखडा लगायतले पनि उनको गायनको प्रशंसा गरिरहेका छन।
सुदूरपश्चिमको बैतडीमा जन्मेका पेलाले यसअघि पनि चर्चित गीत दिइसकेका छन्। २०५३ सालमा उनकै स्वर र संगीत रहेको ‘लुकाउन खोज्दा पनि आँशु’ गीतले पेलालाई चर्चा दिएको थियो। त्यसपछि २०५४ सालमा सार्वजनिक भएको ‘आँशु भाग २’ पनि निकै हिट भएको थियो। तर, चर्चाबिच उनी संगीत साधनामा लागेर गुमनाम जस्तै भए।
पछि २०७६ मा २२ वर्षपछि ‘निजन किनार’ मार्फत उनले कमब्याक गरे। हाल पेला ‘गुरुकुल संङ्गीत पाठशाला’ मार्फत संगीत सिकाइरहेका छन्।