PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

४ उपप्रधान र ३ राज्यमन्त्री सहितको प्रचण्ड क्याबिनेट २३ सदस्यीय, कसले पाए कुन मन्त्रालय?



पहिलोपोस्ट

४ उपप्रधान र ३ राज्यमन्त्री सहितको प्रचण्ड क्याबिनेट २३ सदस्यीय, कसले पाए कुन मन्त्रालय?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २३ सदस्यीय भएको छ। मंगलवार १५ जना मन्त्रीले शपथ लिएसँगै 'क्याबिनेट' २३ सदस्यीय भएको हो। पुस ११ गते ८ जनाको मन्त्रिपरिषद गठन भएको थियो। 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले आज शपथ लिएका हुन्। राप्रपाका सभापति राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीको शपथ लिएका छन्।

माओवादी केन्द्रबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिएका छन्। यस्तै माओवादी केन्द्रबाट  संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री भएकी सुशिला श्रीपाइली काठमाडौं बाहिर भएकाले शपथमा सहभागी भइनन्।

एमालेबाट विमला राई पौडेलले परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाजकल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्रीको शपथ लिएका छन्। 

राप्रपाबाट धुव्रबहादुर प्रधानले कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको शपथ लिएका छन्। त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिएका छन्।

रास्वपाबाटै शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए । एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell