PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राष्ट्रपति र सभामुखबारे छलफल गर्न सरकारलाई समर्थन गरेका दलहरुको बैठक, को को भए सहभागी?



पहिलोपोस्ट

राष्ट्रपति र सभामुखबारे छलफल गर्न सरकारलाई समर्थन गरेका दलहरुको बैठक, को को भए सहभागी?

काठमाडौं : सरकारलाई समर्थन गरेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सोमवार नै उच्चस्तरीय राजनीतिक संयन्त्रको र मंगलवार सर्वदलीय बैठक बोलाएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले।

को को छन् बैठकमा?

सरकारलाई संसदमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै समर्थन गरेका थिएनन्। त्यसबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र ३ जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका थिए।

सरकारलाई समर्थन गरेका सबै दल र स्वतन्त्र सांसदहरु बालुवाटार बैठकमा सहभागी छन्। 

देउवादेखि माधव नेपालसम्म

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट खानेपानी मन्त्रीमा नियुक्त भएका अब्दुल खान लगायतका नेताहरु छन्। उनी खानेपानी मन्त्रीमा नियुक्त भए पनि असन्तुष्टि जनाएर मन्त्रालयको कार्यभार सम्हाल्न गएनन्।

कांग्रेस नेता रमेश लेखक तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि बैठकमा सहभागी छन्। 

बैठकमा प्रधानमन्त्री दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल, रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरु बैठकमा सहभागी भएका हुन्।

सभामुख र राष्ट्रपतिका लागि छलफल

बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति र सभामुखका लागि छलफल हुने तय भएको छ। कांग्रेसले पनि सभामुख र राष्ट्रपतिका लागि दाबी गरेपछि सत्ता गठबन्धनलाई अप्ठ्यारो परिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell