बुटवल : लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँण निर्विरोध निर्वाचित भएकी छन्। मंगलबार दिउँसो १ बजे बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख र उपसभामुख चयन गरेको हो। सभामुखमा भने नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध निर्वाचित भइसकेका थिए।
प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले उक्त बैठकमा सभामुखमा घर्ती र उपसभामुखमा खाँण निर्वाचित भएको जानकारी दिए।
उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले उम्मेदवारी दर्ता गरेका थिए। तर, उनीहरुले प्रदेश सभा बैठकमा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि खाँण निर्वाचित भएकी हुन्।
यसैबिच, सभामुख र उपसभामुखको शपथ ग्रहण बुधबार हुने भएको छ। दिउँसो १ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरीएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।