PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

कांग्रेससँग फेरि सहयोग मागे प्रचण्डले : देउवाको जवाफ, 'त्यसो भए प्रतिपक्षमै बस्छौं'



पहिलोपोस्ट

कांग्रेससँग फेरि सहयोग मागे प्रचण्डले : देउवाको जवाफ, 'त्यसो भए प्रतिपक्षमै बस्छौं'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण पदमा सहमति गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दाहालले नेपाली कांग्रेसलाई पनि सहमतिमा आउन भनेका हुन्। 'महत्वपूर्ण पदमा सहमति गरौं सबै दलले भनेर प्रधानमन्त्रीले भन्नुभयो,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिन आयोजना गरिएको बैठकमा दाहालले फेरि पनि आफूलाई कांग्रेसले सहयोग गर्नुपर्ने बताएका थिए।

कांग्रेसले भने बैठकमा संवैधानिक पद बाँडफाँटमा सहमति गरेर अघि बढ्न सकिने धारणा बैठकमा राखेको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायतका नेता बैठकमा सहभागी थिए। माओवादी केन्द्रबाट मंगलवार मात्रै सञ्चारमन्त्री नियुक्त भएकी नेता रेखा शर्माले प्रधानमन्त्रीले कांग्रेसबाट पनि सहयोगको अपेक्षा गरेको बताइन्। 'सहमति सहकार्यको अपेक्षा गर्नुभयो। सहमति हुने बैठक थिएन। धन्यवाद ज्ञापन गर्ने बैठक थियो। सभामुखमा उम्मेदवारी दर्तापछि पनि छलफल हुन्छ,' उनले भनिन्। 
सभामुख चयनका लागि भोलि दिउँसो १ देखि ४ बजेमसम्म उम्मेदवारी मनोनयनको समय छ। माघ ५ गते सभामुखको निर्वाचन हुदैँ छ। 
दाहालले सभामुखको निर्वाचन हुनु दुई दिनअघि मात्रै कांग्रेसको धारणा बुझ्न खोजेका छन्। राष्ट्रपति र सभामुखमा कांग्रेसले पनि दाबी गरेपछि सत्ता साझेदार दल एमाले सशंकित भएको छ। सत्तामा रहेका दलहरुको भागबण्डाअनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा छ।

कांग्रेसले आजको बैठकमा पनि प्रतिपक्षमै बस्ने बताएको छ। दाहालले भने सत्तामा रहेका दलको धारणा माग्दै संवैधानिक पदमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने सुझाव मागेका थिए। 'प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,' प्रचण्डको सचिवालयले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell