PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोखरामा विमान दुर्घटनाका १५ मार्मिक दृश्य



रिना थापा

पोखरामा विमान दुर्घटनाका १५ मार्मिक दृश्य

पोखरा: सेतीको खोँचमा यतीको विमानसँगै टुक्राटुक्रा परे कयौँको सपना। धेरै परिवारको आड-भरोसा ढल्यो। दुर्घटनामा परेका ७२ जना यात्रु केवल सङ्ख्यामात्र थिएनन्। आशाको धरोहर थिए परिवारका, उज्यालो थिए हिँडिरहेको बाटोमा कसैका। आगोले केवल सास लगेन, आफन्तको सहारा विलीन भयो।

कोही काखमा प्रेमको निशानी लिएर अस्ताए। कोही भेट्छु भन्ने वाचा गरेर सधैँको लागि बिदा भए। आफन्त पर्खिरहे उनीहरूलाई भेट्ने आसमा। काखमा आफ्नो छोरा खेलाउने रहरमा। भेट त भयो तर नबोल्ने गरी। अस्ताए उनीहरू सधैँका लागि। हरेकका आफ्नै पीडादायी कथा छन्।

काखमा छोरा लिएर अस्ताएकी रचना

काखमा १० महिनाको छोरा लिएर सेती खोँचमा अस्ताइन् रचना काफ्ले। प्रेम विवाह गरेर काठमाडौँबाट पर्वत आएकी थिइन् रचना। विवाह गरेको तीन वर्षपछि आमा बनेकी रचना सुत्केरी बस्न जन्म घर काठमाडौँ पुगेकी थिइन्। घरको एक महिने बसाइँ सकेर फर्किँदै थिइन् उनी। रचनाको जीवन यात्रा सेतीमा टुङ्गिएको छ। सँगै छोराको तोतीबोली सुन्ने बाबा प्रदीपको सपना  विलीन भएको छ।

भान्जी भेट्न पोखरा आएका सञ्जय शव गृहमा

पोखरामा रहेकी दिदी नितुलाई सुत्केरी व्यथा लागेको थाहा पाएपछि काठमाडौँबाट पोखरा आएका थिए सञ्जय जैसवाल। आइतबार बिहान दिदी नितुलाई ४ बजे पश्चिमाञ्चल अस्पताल ल्याइएको थियो। यो खबर पाउन साथ बिहानको फ्लाइट बुक गरेर पोखरा आउन लागेका थिए सञ्जय। दिदीलाई भेट्न पोखरा आइपुगेका सञ्जय दिदी रहेको अस्पताल त पुगे तर मृत। अस्पतालको एकै परिसरमा दिदीले भान्जीलाई जन्म दिएर आमा बनेकी थिइन्। सोही परिसरको अर्को कुनामा भान्जीलाई काखमा लिन नपाई निदाइरहे सञ्जय।

कोपाइलटको रूपमा अन्तिम उडान थियो अञ्जुको

१६ वर्ष अगाडि विमान दुर्घटनामा पहिलो श्रीमान् गुमाएकी थिइन् अञ्जु खतिवडाले। श्रीमानको मृत्यु हुँदा हवाई क्षेत्रमा नजोडिएकी अञ्जुले पाइलटको कोर्स गर्ने निधो गरिन। कोर्स सकेपछि नेपाल फर्किएकी अञ्जु यति एयरलाइन्समा जोडिइन्। यतीकै जहाज दुर्घटनामा उनले पहिलो श्रीमान् गुमाएकी थिइन्। को पाइलटको रूपमा उडान भरिरहेकी अञ्जुको यो उडान अन्तिम थियो। काठमाडौँ पोखराको उडानपछि उनी पाइलट बन्दै थिइन्। तर, पाइलट बन्ने सपना पूरा नहुँदै उनको उडान सेतीको खोँचमा ठोकियो।

घर नपसी बिदा भए पाइलट कमल

दुर्घटनामा परेको विमान उडाएका थिए पाइलट कमल केसीले। पोखरा काठमाडौँ उडान गरिरहने कमलले पोखरा आउँदै पिच्छे रुपामा भएका बाबा वीरेन्द्र र आमा मिनालाई खबर गर्थे। जोमसोमको उडान परेको समयमा घरमा बाबा आमा भेट्न पुग्थे। आफ्नो परिवारसहित काठमाडौँ बस्ने कमल उडान भर्नुअघि बेलुका फर्किंने बताउँदै घरबाट निस्किएका थिए। न उनी काठमाडौँ फर्किए। न त पोखरा ओर्लिएर बाबालाई घर आउँछु है भनी फोन गर्न पाए।

मामाघर आएकी थिइन् संगीता

शोकाकुल बनेको पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरको सानो बेन्चमा बसेर रुँदै थिइन सोमबार संगीता शाहीकी आमा। माघे सङ्क्रान्ति मनाउन लाहाचोक रहेको मामाघर घुम्ने योजना बनाएर २२ वर्षीय संगीता पोखरा आएकी थिइन आइतबार। मामाघर पुग्न नपाउँदै सेतीको खोँचमा अस्ताइन। दुर्घटनाको खबर पाएपछि काठमाडौँबाट बाबा र आमा आइपुगेका थिए पोखरा। एक्ली सन्तान रहेकी संगीताको मृत्युले आमालाई विक्षिप्त बनाएको थियो।

सुजनलाई लिन आएका थिए फ्रान्सका एलेक्जेण्डर

आइतबार भएको विमान दुर्घटनामा १५ विदेशी नागरिक पनि थिए। सोही विमानमा सवार थिए फ्रान्सेली नागरिक ६३ वर्षीय एलेक्जेण्डर आइरिडोर। जो पोखरामा भएका आफ्ना साथी सुजन अधिकारीलाई भेट्न। कागजपत्र मिलेसम्म सुजन एलेक्जेण्डरसँगै विदेश जाने योजना पनि थियो। उनी सुजनलाई भेट्न पोखरा आइपुगेका हुन्। तीन वर्ष अगाडि नेपाल आइपुगेको एलेक्जेण्डर र सुजनबीच भएको भेटघाट घनिष्ठ मित्रतामा बदलियो। सुजनको अभिभावक जस्तै बनेका थिए एलेक्जेण्डर। तर साथीलाई नभेटी बिदा भए एलेक्जेण्डर।

सपना पूरा गर्न विमान परिचारिका बनेकी सिर्जना

माघे संक्रान्तिको दिन पोखराको उडान सकेर भद्रपुर जाने तालिका थियो विमान परिचारिका सिर्जना थापाको। बिहान साढे १० बजे काठमाडौंदेखि पोखरा उडान भर्ने र आइतबार नै पोखराबाट काठमाडौँ फर्किएपछि भद्रपुर जाने तालिका थियो उनको। विमान परिचारिका बन्ने इच्छासहित यती एयरलाइन्समा जोडिएकी थिइन् उनी।

अस्ताए तीन चिकित्सक

सिंगापुर जाने तयारीमा थिए डा. सुशील श्रेष्ठ। राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जनका रूपमा कार्यरत रहेका डा. सुशील थप अध्ययनको लागि सिंगापुर जाँदै थिए। पोखरामा बस्ने आमा र बाबा भेट्न श्रीमती डा. सोना दिवाकर र १० महिनाको छोरासहित भेट्न हिँडेका थिए उनी।

सोही विमानमा अस्ताएका छन् डा गणेश थापा। पोखरामा रहेको ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत थिए डा. गणेश।

अस्ताए पत्रकार पनि

काठमाडौँमा प्रधानमन्त्री भेट्न पुगेका थिए पत्रकार त्रिभुवन पौडेल। बिहान प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेपछि दिउँसोको फ्लाइट सारेर पोखरा फर्किएका थिए उनी। जुन सेती खोँचमा खस्यो। सोही विमानमा थिए पोखरामा रहेको रेडियो एपोस्टलका स्टेसन म्यानेजर अनिल शाही पनि।

घुम्न आउँदै थिए आमा छोरा

काठमाडौँमा बसेर छोराछोरी पढाउँदै थिइन् सुष्मा भट्ट र छोरा श्लोक। महेन्द्रनगरमा रहेका व्यापार व्यवसाय गरिरहेका उनका श्रीमान् सञ्जीवचन्द्र पोखरा आएका थिए। उनैलाई भेट्न पोखरा घुम्न छोरा लिएर आइतबार बिहान यतीको विमानमा चढेकी थिइन् सुष्मा।

आमाको चौरासी पूजामा सन्तानसँगै आएकी जमुना

आमाको चौरासी पूजामा सहभागी हुन काठमाडौँबाट पर्वत जाँदै थिइन् जमुना शर्मा। उनीसँगै थिए छोरा र नातिनातिना युवराज शर्मा, आरुधी शर्मा र बेवी शर्मा। पर्वतको विहादी गाउँपालिकामा रहेको आमाको घरमा पुग्न काठमाडौँबाट हिँडेको थियो उनको परिवार। आमालाई भेट्ने र चौरासी पूजामा सहभागी हुने मनसहित यात्रा तय गरेकी जमुनाको गन्तव्य छोरा र नातिनातिनासँगै सेतीमा अन्त्य भयो।

मसान्तमा हिँड्न नहुने भन्दै साइत सारेका दम्पती

सिजनल भिसामा ६ महिनाअघि बेलायत पुगेका थिए कास्की माछापुच्छ्रे गाउँपालिकाका बेलमान गुरुङ। नेपाल फर्किएका बेलमानलाई लिन काठमाडौँ पुगेकी थिइन् श्रीमती सीता गुरुङ। २९ गते श्रीमान् लिन काठमाडौँ पुगेकी थिइन् सीता। मसान्तमा साइत शुभ नहुने भन्दै एक दिन काठमाडौँमा बसेर माघ १ गतेको साइत पारेका थिए यी दम्पतीले। सीता र बेलमानले पारेको शुभ साइतको यात्रा पोखरा ओर्लिन नपाउँदै सकियो।

नातिनी लिन गएकी ओममाया

हङकङबाट बिदा मनाउन नेपाल आएकी थिइन् ओममाया गुरुङकी कान्छी नातिनी पुजन राना। बिदा मनाउन आएकी नातिनी लिन खुसी साथ जेठी नातिनी यास्मिन लिएर काठमाडौँ पुगेकी थिइन्। आइतबार संक्रान्ति मनाउन बिहानको फ्लाइट लिएर पोखराको लागि उडे हजुरआमा र दुई नातिनी। पोखरा ओर्लिएर राम बजारको घर नपुग्दै सेती खोँचमा अस्ताए तीनै।

घरमा नभित्रिँदै नपाउँदै बिलाए अुनष्का र शिव

दुई वर्ष अगाडि विवाह गरेर विदेश पुगेका थिए अनुष्का गुरुङ र शिव। शिव अमेरिकामा, अनुष्का अष्टेलिया। यो बिदामा विवाह दर्ता गरेर अनुष्कालाई घरमा भित्रयाउने चाहाना थियो शिवको। पोखरा बगाले टोलमा बस्थे शिवका बाबुआमा।

पोखरामा आइ परिवारसँग भेटघाट गरेर विवाह दर्ता गर्ने योजना थियो दुबैको। एकअर्काबाट टाढा बसेका दुबै अमेरिकामा जाने सोचमा थिए।

‘तिमी पनि आऊ है’ भनेर बिदा भए सदाकत

उर्माका लागि मक्का जान लागेकी सानीमा छोड्न गएका थिए सदाकत मियाँ काठमाडौँ। सानीमालाई छोडेर आइतबार पोखरा फर्किँदै गर्दा जन्मघर स्याङ्जा पुगेकी श्रीमती सबनामलाई कल गरेर भनेका थिए,‘११-१२ बजे आइपुग्छु पोखरा, तिमी पनि आऊ है माया।’

सबनम त आइन् पोखरा। तर, आएनन् सदाकत। साढे तीन वर्ष अगाडि वैवाहिक जीवनको यात्रा सबनमसँग जोडेका सदाकत बीच बाटोमै अस्ताए। छोडेर गए त आफ्नो प्रेमको निशानी छोरी नुरालाई।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell