PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चिनियाँ विदेश मन्त्रीको अफ्रिका भ्रमण: अफ्रिका र मध्यपूर्वसँग बलियो सम्बन्ध जोड्ने कडी, चासो प्यालेस्टाइन-इजरायल द्वन्द्व



विधुर ढकाल

चिनियाँ विदेश मन्त्रीको अफ्रिका भ्रमण: अफ्रिका र मध्यपूर्वसँग बलियो सम्बन्ध जोड्ने कडी, चासो प्यालेस्टाइन-इजरायल द्वन्द्व

सांघाई: साता लामो अफ्रिका भ्रमणबाट चिनियाँ विदेश मन्त्री छिन काङ बेइजिङ फर्किएका छन्।  डिसेम्बर ३० मा चिनियाँ विदेश मन्त्रीमा नियुक्त भएका छिनले नयाँ वर्षको सुरुवातमै अफ्रिकी महादेशका पाँच देशको भ्रमण गरेर फर्किएका हुन्। उनले यसबीच दुई क्षेत्रीय संगठनको मुख्यालयको समेत भ्रमण गरे। 

यो भ्रमणले चीन र अफ्रिकाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ। यो ३३ वर्ष यताकै निरन्तरता हो की चिनियाँ विदेश मन्त्रीहरु नयाँ वर्षको सुरुवातमै अफ्रिकी देशको भ्रमणमा निस्किन्छन्। 

पाँच देशको भ्रमणका क्रममा विदेश मन्त्री छिङको अन्तिम गन्तव्य कायरो थियो। त्यहाँ उनले इजिप्टका विदेशमन्त्री सामेह शौक्रीसँग भेट गरे। यो भेटमा बेइजिङ-कायरो सम्बन्धका विषयमा मात्र केन्द्रित थिएन। चीन-मध्यपूर्व सम्बन्धका बारेमा पनि केन्द्रित थियो। 

विदेश मन्त्री छिङले समकक्षी शौक्रीलाई चीनको मध्यपूर्व नीतिबारे विस्तृत जानकारी दिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलवारको प्रेस ब्रिफिङमा भनेका छन्। 

सो क्रममा उनले त्यस क्षेत्रका देशहरूलाई खाद्य र ऊर्जा सुरक्षाका चुनौतीहरूको सामना गर्न मद्दत गर्न थप विकास सहयोगको लागि आह्वान गरे। साथै मन्त्री छिङले चीनले मध्यपूर्वका जनतालाई स्वतन्त्र रूपमा विकासको मार्ग पहिल्याउन सहयोग गरेको र मध्यपूर्वका देशहरूलाई क्षेत्रीय सुरक्षा मुद्दाहरूलाई संयुक्त र समन्वयात्मक प्रयासमार्फत सम्बोधन गर्न सहयोग गरेको बताएका थिए। 

सो क्रममा बेल्ट एण्ड रोड कोअपरेसनलाई अगाडि बढाउन, ग्लोबल डेभलपमेन्ट इनिसियटिभ कार्यान्वयन गर्न र संयुक्त रुपमा विकास र पुनरुत्थानका लागि हामीले मध्यपूर्वका देशहरुसँग जोडतोडका साथ काम गरेकोसमेत बताए। 'हामी ग्लोबल सेक्युरिटी इनिसिएटिभलाई कार्यान्वयनमा ल्याइरहेका छौं। हामी मध्यपूर्वमा साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षा संरचनाको वकालत गर्दछौं र क्षेत्रीय मुद्दाहरूको राजनीतिक समाधानमा चीनले योगदान पुर्‍याएको छौँ,' प्रवक्ता वाङले भनेका छन्।
 
भ्रमणका क्रममा विदेशमन्त्री किन र लिग अफ अरब स्टेटस्का महासचिव अहमद अबुल घेइतसँगसमेत भेट गरेका थिए। दुई महिना अगाडि मात्र चिनियाँ राष्ट्रपति सि चिनफिङ साउदी अरेबीयाको भ्रमण गर्दै 'चीन-अरब राष्ट्रहरुको पहिलो शिखर सम्मेलन'मा भाग लिएका थिए। शिखर सम्मेलनले रियाद घोषणापत्रसहित तीन महत्वपूर्ण दस्तावेज जारी गरेको थियो। जसमा चीन र अरब मुलकहरु नयाँ युगमा साझा भविष्यसहितको चीन-अरब समुदाय निर्माण गर्न पूर्णरूपमा मिलेर काम गर्न सहमत भएका छन्। 

कायरो भ्रमणका क्रममा उनले प्यालेस्टिनी मुद्दा मध्यपूर्व मुद्दाको मूल विषय भन्दै त्यसको समाधानका लागि चीनले महत्त्व दिएको बताए। 'प्यालेस्टिनी मुद्दा मध्यपूर्वमा शान्ति र स्थिरतासँग सम्बन्धित छ, र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायसँग सम्बन्धित छ र चीनले यसलाई ठूलो महत्व दिएको छ,' छिङले भनेका थिए। उनले अन्तर्राष्ट्रिय समुदायले दुई-राज्य समाधानमा आफ्नो विश्वासलाई बलियो बनाउनुपर्ने बताए। प्यालेस्टाइनमा मानवीय र विकास सहायता विस्तार गर्नुपर्ने भन्दै प्यालेस्टिनी प्रश्नको शीघ्र र न्यायोचित समाधानमा जोड दिए। 

विदेश मन्त्री छिङको यो भ्रमण अफ्रिकी देशसँगको सम्बन्ध बढाउन मात्र केन्द्रlत नभई मध्येपूर्वमा पनि चिनियाँ प्रभाव बढाउन केन्द्रित थियो। चीनका लागि इजरायल र प्यालेस्टाइनबीच तनाव चिन्ताको विषय हो। चीनले औपचारिक रुपमा इजरायलसँग कूटनीतिक सम्बन्ध राख्छ। उता प्यालेस्टिनसँग पनि उसले सम्बन्धलाई निरन्तरता दिएको छ। सन् १९९२ मा चीनले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो। त्यसयता दुबै पक्षसँग चीनले सुमधुर सम्बन्ध कायम राख्दै आएको छ। 

चीनले गाजापट्टिमा नेतृत्व गरेको हमासलाई आतंकवादी संगठन मान्दैन। र उसले प्लेस्टिनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको दर्जा दिन सहयोग गर्दै आएको छ। प्यालेस्टिनी नेताहरु यासेर अराफत र अहमुद अब्बासले राजकीय रुपमा बेइजिङको भ्रमण गरेका छन्। 

जुलाई २०१७ मा, चिनियाँ राष्ट्रपति सीले "इजरायल-प्यालेस्टाइन द्वन्द्वको मुद्दा" मा "चार बुँदे" चिनियाँ धारणा राख्दै चीनले स्वतन्त्र, सार्वभौम प्यालेस्टाइनको स्थापनालाई समर्थन गरेका थिए। उनले १९६७  सीमानामा आधारित दुई-राज्य समाधानको रूपरेखा, पूर्वी जेरुसेलमलाई प्यालेस्टिन राजधानी मान्यता दिएका थिए। 

विदेश मन्त्री छिङको अफ्रिकी देशको भ्रमणका क्रममा पनि प्यालेस्टाइनको सवालमा अन्तर्राष्ट्रिय सहमति र संयुक्त राष्ट्र संघका सान्दर्भिक प्रस्तावहरूको पालना गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नमा केन्द्रीत रहे। 

जेरूशलेमका धार्मिक पवित्र स्थलहरूको इतिहासमा यथास्थितिको रक्षा गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे। उनले इजरायलले उक्साहटलाई बढवा नदिन भन्दै कुनै पनि एकपक्षीय कार्यबाट टाढा रहन इजरायललाई आह्वान गरे। 

जनवरीको पहिलो सातामा चीनले प्यालेस्टाइनको प्रश्नमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालीन सार्वजनिक बैठक बोलाउन समर्थन गरेको थियो।  चीन प्यालेस्टाइनलाई किन पनि समर्थन गर्छ भने प्यालेस्टाइन हरेक अन्तर्राष्ट्रिय मञ्चहरुमा चिनियाँ पक्षको साथमा उभिँदै आएको छ। चाहे त्यो सिन्चियानमा भएको मानव अधिकारको मुद्दा होस या हङकङको मुद्दा होस्। 

अफ्रिकामा चिनियाँ उपस्थिति 
चीनले पछिल्ला दशकहरुमा अफ्रिकामा आफ्नो बाक्लो उपस्थिति बनाएको छ। नयाँ शताब्तीको सुरुवातसँगै चीनले अफ्रिकामा ६०० किलोमिटर भन्दा बढी रेलमार्ग, ६ हजार किलोमिट बढी सडक निर्माण गरेको छ। त्यस्तै २० वटा बन्दरगाह, ८० बढी जलविद्युत परियोजना, १३० बढी अस्पतालहरु निर्माण गरिदिएको छ। त्यस्तै ४५ बढी खेल मैदान तथा ५०० बढी कृषि परियोजना चीनले अफ्रिकामा सञ्चालन गरिरहेको छ। 

अफ्रिकामा चिनियाँ लगानी बढ्दै जाँदा पश्चिमा राष्ट्र यसलाई 'ऋणको पासो'को रुपमा परिभाषित गर्दै आएका छन्। विदेश मन्त्री छिङको यो भ्रमण यस आरोपलाई चिर्न प्रयोग गरे। 

अफ्रिकी संघ आयोगका अध्यक्षसँगको भेटपछि यस आरोपलाई खण्डन गरे। संयुक्त रुपमा पत्रकारहरु माझ उपस्थित भएर उनले भनेका थिए- चीन र अफ्रिका असल भाइहरु हुन्। जसले एउटै सास फर्छन् र साझा भाग्य बाँड्छन्। दुबै पक्ष साझा विकासको मार्गमा अगाडि बढिरहेका छन्।

उनले अफ्रिकालाई ऋणको दबाब कम गर्न चीन सँधै प्रतिवद्ध रहेकोसमेत बताएका थिए। 

चिनियाँ विदेशमन्त्री छिङको यो भ्रमण विशेष गरी चार कुरामा केन्द्रित रह्यो।

पहिलो, चीन र अफ्रिकाबीच ठोस आदानप्रदान र वैचारिक आदानप्रदानको प्रबर्द्धन। दोस्रो, चीन र अफ्रिकाका मित्रराष्ट्रहरूबीचको असल सम्बन्धलाई निरन्तर प्रगाढ बनाउनु हो। तेस्रो, चीन-अफ्रिका सहकार्यको गुणस्तर र उन्नयनलाई जोडतोडका साथ प्रबर्द्धन गर्नु हो। चौथो, विकासोन्मुख देशहरूको एकता र सहकार्यको दृढतापूर्वक रक्षा।

छिङको ८ दिने अफ्रिकी भ्रमणका क्रममा इथियोपिया, ग्याबोन, अंगोला र बेनिनको पनि भ्रमण गरे। यो भ्रमणले अफ्रिकासँग चीनको सहयोगलाई थप बढवा दिएको छ।  विदेश मन्त्री छिङ अफ्रिकाको पाँच राष्ट्रको भ्रमणको सुरुमा इथियोपियाको भ्रमण गर्नु पश्चिमा देशहरुबाट आलोचित इथियोपिया सरकारप्रति चिनियाँ समर्थन र ऐक्यवद्धता प्रदर्शन गर्न थियो। इथियोपियासहितका यी पाँच देशको भ्रमण चीनको कूटनीतिक र आर्थिक महत्त्वकांक्षाका लागि रणनीतिक थिए। 

योसँगै अफ्रिकामा पश्चिमा मुलुक चासो पनि उत्तिकै छ। चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि फ्रान्स र जर्मनीका उच्च कूटनीतिज्ञका साथै अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता अफ्रिकाको भ्रमण गर्दैछन्। प्रमुख पश्चिमी शक्तिहरूले अफ्रिकाको महत्त्व बुझेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell