PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सफलतापछि असफलतामा अल्झिएको म्यानचेस्टर युनाइटेड कसरी फर्कँदैछ पुनर्उत्थानको बाटोमा?



पहिलोपोस्ट

सफलतापछि असफलतामा अल्झिएको म्यानचेस्टर युनाइटेड कसरी फर्कँदैछ पुनर्उत्थानको बाटोमा?
Photo: Phil Noble/Reuters

सन् १९९२ देखि २०१३ सम्म इङ्ग्लिस प्रिमियर लिगमा १३ वटा ट्रफी जितेको म्यानचेस्टर युनाइटेडले त्यसताका दबदबा बनाएको थियो। युनाइटेड टिममा विश्वभरका उत्कृष्ट खेलाडी थिए र टिमबाहिर उत्तिकै समर्थक।

सन् २०१३ मा म्यानेजर एलेक्स फर्ग्युसनले संन्यास लिएपछि युनाइटेडका समर्थकहरुले आफ्नो साम्राज्य भत्किएको देखे। एउटै सहरमा अर्को फुटबल टोलीले शक्ति विस्तार गर्न सुरु गरिसकेको थियो : म्यानचेस्टर सिटी।

शनिवार लिगको खेलमा बलियो म्यानचेस्टर सिटीलाई युनाइटेडले २-१ गोलअन्तरले हरायो। यो जितले फेरि युनाइटेडका समर्थकलाई आशा पलाएको छ, क्लब फेरि उपाधि होडमा देखिन पो थाल्छ कि?

युनाइटेडले आफ्ना पछिल्ला १३ खेलमध्ये १२ वटामा जित निकालेको छ। यो सिजन खराब सुरुवात गर्दै तालिकाको पुछारमा समेत बसेको युनाइटेडमा देखिएको यो उल्लेखनीय सुधार हो।

त्यसो भए युनाइटेडको पुनर्उत्थान कसरी भइरहेको छ?

एरिक टेन हाग

सन् २०१३ मा फर्ग्युसन बाहिरिएपछि युनाइटेडले ६ जना प्रशिक्षक र २ जना कार्यवाहक प्रशिक्षक राख्यो। तर, सबैमा एउटै समस्या दोहोरियो, युनाइटेडले पहिलाजस्तो दबदबा कायम राख्न सकेन। होसे माउरिन्होमात्र यस्ता प्रशिक्षक रहे जो २ सिजन बढी टिके।

आफ्नो कार्यकालको खराब सुरुवात गरेका टेन हागले आफू अनुकुलको ‘प्याट्रन’ बनाउँदै लगेका छन्। मैदान भित्र र बाहिर उनले उत्तिकै रणनीतिहरु लगाइरहेका छन्।

मैदानबाहिर अनुशासनको विषयमा पनि उनी कठोर छन्। धेरै सुतेको भन्दै मार्कस रासफोर्डलाई उनले बेञ्चमा राखिदिए। प्रिसिजनको टिममिटिङमा नआएको भन्दै अलेजान्द्रो गार्नाछो पनि उनको अनुशासनको कारबाहीमा पिसिए। सब्सि्टच्युड खेल्न नमान्दा क्रिस्टियानो रोनाल्डोलाई पनि बाहिर राखिदिए।

‘यतिको शीर्ष क्लबमा यति त हुनपर्छ’, रासफोर्डलाई बेञ्चमा राखेपछि डिफेन्डर लुक शले भनेका थिए, ‘मलाई लाग्छ, यसरी मनपरी गर्दा समस्या सिर्जना हुन सक्छ। प्रशिक्षकले ती सबैलाई ध्यानमा राख्छन्। यदि तपाईंले स्तर उच्च राख्नुभएको छैन भने तपाईं खेल्नुहुन्न।’

रासफोर्डको लय

शनिवार युनाइटेडलाई जित दिलाउन अहम् भूमिका थियो उनै रासफोर्डको। उक्त खेलमा गोल गरेसँगै क्रिस्टियानो रोनाल्डोको २००८ को कीर्तिमान तोड्दै लगातार ७ खेलमा गोल गरेको युनाइटेडको कीर्तिमानलाई पनि उनले तोडे।

‘उसले पहिले नै सिकेको छ। उसलाई थाहा छ कि शीर्ष फुटबलमा कष्ट भोग्नु पर्छ, त्याग गर्नु पर्छ, तपाईका पीडादायी क्षणहरू हुनेछन्। उनी रोक्न नसकिने खेलाडी हुन्,’ उक्त खेलपछि प्रशिक्षक टेन हागले भनेका थिए।

यो गत वर्षको तुलनामा एकदमै फरक छ। गतसिजन २५ वर्षे उनले प्रिमियर लिगका २५ खेलमा मात्र चार गोल गरेका थिए। इङ्ल्यान्डको टोलीमा आफ्नो स्थान गुमाए र उनको आशाजनक करियरको बिग्रिएको जस्तो देखिन्थ्यो।

टेन हागको मातहतमा रासफोर्डले केही आत्मविश्वास पुनः प्राप्त गरेको देखिन्छ। र, आफ्नो खेलमा थप लक्षित दृष्टिकोण अपनाएको देखिन्छ।

अनुबन्धन

युनाइटेडको मिडफिल्डमा ७३ मिलियन डलरमा स्पेनिस क्लब रियल मड्रिडबाट कासेमिरो आए। ब्रेन्टफोर्डसँग युनाइटेडले ४-० गोलको लज्जास्पद हार ब्यहोर्दा कासेमिरो अनुबन्धनको क्रममा थिए।

उक्त खेल हेरेका कासेमिरोले आफ्नो एजेन्टलाई म्यासेज गरेका थिए : उनीहरुलाई भनिदेउ म यो ठीक गर्न सक्छु। इङ्ग्लिस अखबर डेली टेलिग्राफले लेखेको थियो।

पाँच पटकको च्याम्पियन्स लिग विजेता उनी आउनुअघि युनाइटेडको मुख्य समस्या डिफेन्समै थियो। तर, कासेमिरोले युनाइटेडका लागि डिफेन्सिभ कमजोरीहरू कम गर्ने, विश्व-स्तरीय ‘डिस्ट्रिब्युसन्’ र त्यो जादुयी ‘जितको मानसिकता’ ल्याएर मात्र धेरै काम गरेका छन्।

‘उनी धेरै महत्वपूर्ण छन्’, प्रशिक्षक टेन हागले भनेका छन्, ‘उनी ढुङ्गाहरूबिचको सिमेन्ट हुन्। उनको डिफेन्डिङ, उनको संगठन उत्कृष्ट छ। उनलाई आफ्नो स्थिति थाहा छ। खेलाडीहरूलाई सही स्थानमा पुर्‍याउने, मिडफिल्डमा बल जित्ने राम्रो छ।’

भर्खरको विश्वकप विजेता लिसान्ड्रो मार्टिनेजले पनि युनाइटेडको पुनर्जागरणमा योगदान पुर्‍याएका छन्। जब उनी समरमा सामेल भए, क्लबको रक्षापंक्तीलाई अझ बलियो बनाउन सेन्टर-ब्याकमा राफेल भरानेसँग प्रभावशाली साझेदारी बनाए।

फेरिएको रणनीति

टेन हागको मताहतमा युनाइटेडको रणनीति केही फरक देखिन्छन्। चलिआएको शैलीभन्दा केही फरक। जस्तोकी लेफ्ट ब्याक लुक शलाई सेन्टर ब्याक पोजिसनमा लैजाने निर्णय।

सुरुमा यो कदम चाल्नुका पछाडि ‘इन्ज्युरी’ र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कारण थिए। तर, श यस ‘अपरिचित’ पोजिसनमा रहे। गत हप्ता उनले वुल्भ्सविरुद्ध गरेको गोललाई प्रशिक्षकले तारिफ गरेका थिए।

त्यसपछि सिटीविरुद्धको खेलमा पनि उनी सेन्टर ब्याक पोजिसनमै खेले।

क्रिस्टियानो रोनाल्डो

म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको आइकन छविले पनि टेन हागको टोलीको पुनर्संरचनाबाट छुट दिएन। यो सिजन पिचमा रोनाल्डोको प्रदर्शन कमजोर थियो - प्रिमियर लिगका १० खेलमा उनले एक गोल मात्र गरेका थिए।

अन्ततः, उनको निराशाजनक प्रदर्शनका बिच टेन हागले रासफोर्ड वा एन्थोनी मार्शललाई खेल सुरु गर्न छनोट गरे जसका कारण रोनाल्डो बेञ्चमा समेटिन थाले।

यो सबै श्रृंखला उसो त नोभेम्बरमा समाप्त भयो। जब रोनाल्डोले युनाइटेडबाट धोका भएको महसुस गरेको भन्दै विवादास्पद अन्तर्वार्ता दिए। जसमा उनले प्रशिक्षक टेन हागमाथि कुनै सम्मान नभएको बताएका थियो। लगत्तै टिम छाडेका उनी हाल साउदी अरेबिया पुगेका छन्।

रोनाल्डोको प्रकरणले टेन हागलाई कमजोर बनाउनुको सट्टा बलियो बनायो। र, भाष्य निर्माण भयो : कुनै पनि खेलाडी टोली भन्दा ठूला हुँदैन। पछिल्ला खेलहरुमा प्रभावशाली प्रदर्शन गरिरहेको युनाइटेडको पुनर्उत्थानको हरियो अंकुरणहरूले आफ्नो टाउको जमिन माथि हेरिरहेको देखिन्छ।

अब प्रश्न यो छ कि टेन हागको श्रमले उनको पूर्ववर्ती प्रशिक्षकहरूले हासिल गरेको भन्दा बढी उपलब्धि हात पर्ला?

सीएनएनमा प्रकाशित सामाग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell