कास्की : पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर-७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ।
कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो। केसी रुपा गाउँपालिका-३ पोल्याङ निवासी थिए। गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो। केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुन्।
गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए। मंगलवार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो।
केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए। उनले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गरेका हुन्। पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए। केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए।
यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको चालक दलसहित ७२ जना सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना भएको थियो।