PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फागुनमा ए डिभिजन लिग : कुनै क्लबको जोडतोडको तयारी, बाँकीको ढिलाई कि गुपचुप?



मुकुन्द घिमिरे

फागुनमा ए डिभिजन लिग : कुनै क्लबको जोडतोडको तयारी, बाँकीको ढिलाई कि गुपचुप?

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगको मिति घोषणा भएयता क्लबहरुको माहोल तातेको छ। लिगका लागि खेलाडी अनुबन्धनलाई प्राथमिकतामा राख्न शुरु गरेका छन् ‘ए’ डिभिजनका क्लबहरुले। तिनै क्लब मोफसलका प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति देखाउँदैछन्।

त्यसो त मोफसलका प्रतियोगितामा सँधैजसो देखिने थ्रीस्टारलगायत केही क्लब यसपाला देखिएका छैनन्। अखिल नेपाल फुटबल संघ एन्फाले अर्को महिना लिग गराउने घोषणा गरिरहँदा कस्तो बन्दैछ त माहोल?

कुनकुन क्लब अनुबन्धनमा आक्रामक?

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पटक-पटक मिति सारेर पछिल्लो समय लिगका लागि घोषणा गरेको मिति हो : फागुन १९ गते। लिगका लागि एन्फाले चासो बढाएसँगै केही क्लब अनुबन्धनमा आक्रामक देखिन थालेका छन्।

अनुबन्धनमा आक्रामक देखिएका क्लबहरुमा नवप्रवेशी चर्च ब्वाइज, खुमलटार एफसीदेखि संकटा क्लब, साविक विजेता मछिन्द्र क्लबलगायत रहेका छन्। त्यस्तै, नेपाली लिगको आधुनिक इतिहासमा सफल देखिएको मनाङ मर्स्याङदी क्लबले युवा खेलाडीको बाहुल्यतामा टिम घोषणा गरेको छ।

‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर ‘ए’ डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइजले आहा रारा गोल्डकपमा ‘ए’ डिभिजन च्याम्पियन मछिन्द्र क्लब र ‘ए’ डिभिजन लिगमा कुनै बेला दबदबा बनाएको नेपाल पुलिस क्लबलाई नै हराउँदै लिगमा आफ्नो दर्बिलो उपस्थिति हुने संकेत गरिसकेको छ। लिगमा बलियो प्रदर्शनका लागि राष्ट्रिय टोलीका स्टार खेलाडी अञ्जन विष्टलाई भित्र्याएको चर्च ब्वाइजले ‘बी’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष चापागाइँ, साइमन लिम्बू, एनोस मगर, बिकु राई, प्रशान्त लिम्बू, आशिष चौधरी लगायतका खेलाडीको सम्झौता बढाएको छ।

आहा रारा गोल्डकपमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा उत्रिएको टोलीले तेज तामाङ, एरिक बिस्ट लगायतको उपस्थितिमा सानदार प्रदर्शन गरेको थियो।

त्यस्तै, खुमलटार एफसी नेपाली लिग र खासगरी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा बलियो प्रदर्शन गरेका मेसुके ओलोमउ, स्टेफेन बिनोङलगायत थेओफिलोस अपोलाई अनुबन्धन गर्दै बलियो टोली बनाउने संकेत गरेको छ। त्यस्तै, ‘सी’ डिभिजनको सुनकोठी एफसीबाट पदम भट्टराई, रोहित सुब्बा र श्याम मुरमुरलाई ‘लोन’मा भित्र्याउँदै अनुबन्धनलाई अघि बढाएको छ।

तीनपटक लिग जितेको संकटा क्लबले राष्ट्रिय टोलीका खेलाडीहरु अनुबन्धन गर्दै लिग उपाधिमा दाबेदारी बलियो बनाउने होडमा देखिएको छ। जसको पछिल्लो बलियो संकेत हो : आहा रारा गोल्डकपको उपाधि। राष्ट्रिय टोलीका मनिष डाँगी, सुरज जिउ ठकुरी, आयुस घलान, निशान खड्का, गौतम श्रेष्ठ र सुनिल बललाई भित्र्याएको छ। यतिमात्र हैन संकटाले टिकेन्द्रसिंह थापा, विष्णुकुमार केसी, कुलदीप कार्कीलगायतका सशक्त खेलाडी भित्र्याउँदाँ टोली सन्तुलित र बलियो देखिएको छ।

स्टार खेलाडी गुमाएको मनाङ मर्स्याङदीले यसपटक आफ्नो टोलीमा युवालाई अवसर दिएको छ। अघिल्लो सिजनमा मनाङको कप्तानी सम्हालेका अञ्जन विष्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ।

यो सिजनका लागि मनाङको प्रशिक्षण किरण श्रेष्ठले गर्नेछन्। किरण कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी राष्ट्रिय टोलीका प्रशिक्षक छँदा सहायक प्रशिक्षक थिए। मनाङको गोलकिपर प्रशिक्षकमा प्रविण श्रेष्ठ रहेका छन्। यस सिजनका लागि दिप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर मनाङले अनुबन्धन गरेका खेलाडी हुन्।

साविक विजेता मछिन्द्र क्लबलाई लगातार दुई सिजन च्याम्पियन बनाउन अहम भूमिका खेलेका केही खेलाडीले हालै क्लब छाडेका छन्। सुजल श्रेष्ठ, छिरिङ गुरुङ, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, विमल घर्ती मगरलगायतका खेलाडीले भने मछिन्द्रमै करार थपेका छन्। त्यस्तै प्रशान्त अवस्थी, पुजन उपरकोटीलगायतका खेलाडीलाई मछिन्द्रले अनुबन्धित गरेको छ।

नयाँ सिजनअघि लोगो परिवर्तन गरेको हिमालयन शेर्पा क्लबले विसोन गुरुङसँग करार बढाउँदै सोमवारबाट ‘ए’ डिभिजन लिगको तयारी सुरु गरेको देखिन्छ। 

त्यसबाहेक तीन विभागीय टोलीले धेरै स्टार खेलाडी गुमाएका छन्। त्रिभुवन आर्मी क्लबका स्ट्राइकर जर्ज प्रिन्स कार्की मिसनमा लेबनान जाँदा यो सिजनमा उनी उपलब्ध नहुने बुझिएको छ। त्यसबाहेक अघिल्लो सिजनमा चोट ब्यहोरेका कप्तान भरत खवास, नवयुग श्रेष्ठ, दिनेश हेन्जनलगायतका खेलाडी यसपाला उपस्थित हुँदा आर्मीको पनि बलियो उपस्थिति हुने देखिन्छ।

एपीएफको सन्दर्भमा स्कोरर आशिष लामा अस्ट्रेलिया पलायन भएको हुँदा उनको अभाव खड्किने देखिन्छ। रेलिगेसन नजिक एपीएफले संघर्ष गरिरहँदा पनि लामाले पछिल्ला दुई सिजनमा राम्रो प्रदर्शन गर्दै आएका थिए। त्यसबाहेक एपीएफले कस्ता विदेशी खेलाडी अनुबन्धित गर्नेछ भन्ने विषयले पनि अर्थ राख्नेछ।

यो विषय पुलिसमा पनि लागू हुनेछ। नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले पटकपटक विदेशी खेलाडी नहुँदा आफ्नो टोलीलाई कठिन बनिरहेको संकेत गर्दै आएका थिए। विभागीय टोली मध्येको एपीएफले विदेशी खेलाडी अनुबन्धन गर्न सुरु गर्दा सायद पुलिसले पनि त्यही बाटो अवलम्बन गर्ला कि?

तयारीमा ढिलाइ कि गुपचुपमा तयारी?

सामाजिक सञ्जाल र पछिल्ला मोफसलका प्रतियोगितामा पनि केही ‘ए’ डिभिजन क्लबको उपस्थिति पातलो देखिएको छ। जसमा थ्री स्टार क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) रहेका छन्। जसमध्ये फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबको ७ गते साधारण सभा बस्ने तयारी छ। साधारणसभा पछि लिगको तयारी तीब्र बनाउने योजना भएको मान्न सकिन्छ।

थ्री स्टार क्लबका महासचिव सञ्जीव सिल्पाकार आफ्नो क्लबले तयारीमा ढिलाइ गरिरहेको अस्वीकार गर्छन्।

‘लिगका लागि लक्षित गरेर टिम बनाउने हो’, महासचिव सिल्पाकारले भने, ‘मोफसलका लागि लक्षित गरेर कमैमात्रै टिम बन्छ। हामी चाहिँ कुनै प्रतियोगिता खेल्दा आफ्नो प्रपर टिम बनाएर मात्रै खेल्न रुचाउँछौँ। बटूलबाटुल गरेर टीम बनाएर खेल्न चाहँदैनौँ।’

मोफसलका प्रतियोगितामा लोकप्रिय टोली थ्री स्टारले यसपाला आहा रारा गोल्डकप लगायतका प्रतियोगिता खेलेन। सिल्पाकारको भनाइ मान्ने हो भने ‘प्रपर टीम’ बनिइ नसकेकाले मोफसलमा उपस्थिति नदेखिएको हो।

खेलाडी अनुबन्धनको काम भइरहेको भए पनि आफ्नो क्लबले टीम बनाइसकेर मात्र सार्वजनिक गर्ने तयारी गरेको उनले बताए।

‘हाम्रो आन्तरिक रुपमा तयारी भइरहेको छ। हामीले अनुबन्धनहरु भइरहँदा प्रेस रिलिजहरु निकालिरहेका छैनौँ। तर, आन्तरिक रुपमा तयारी भइरहेको छ’, सिल्पाकारले भने, ‘स्टार खेलाडी भनेको कुनैबेला कुनै क्लबमा होला कुनै बेला अर्को क्लबमा। सँधै एउटै क्लबमा खेलिरहने भन्ने हुँदैन। हामीले पनि धमाधम अनुबन्धनको काम थालिसकेका छौँ। हामी हरेक खेलाडी अनुबन्धन बाहिर ल्याउँदैनौँ। प्रपर टोली बनाएर बाहिर ल्याउँछौँ।’

त्यस्तै, जावलाखेल युथ क्लबले पनि लिगका लागि विदेशी खेलाडीमात्र अनुबन्धन गर्न बाँकी रहेको जनाएको छ। जावलाखेलका टिम म्यानेजर तथा सचिव कविर बस्नेतले नेपाली खेलाडीको टुंगो लगाइसकेको र विदेशी खेलाडी अनुबन्धन गर्ने प्रकृयामा रहेको बताए।

‘हामीले अनुबन्धन गरिरहेका छौं। बाहिर नसुनिएको मात्र हो। टिम नै एकैपटक घोषणा गरौं कि भन्ने तयारी छ’, उनले भने, ‘विदेशीको बाँकी छ। एक जना टुंगो लागिसकेको छ। अर्को दुईजना र एसियन कोटाको एकजना टुंगो लाग्न बाकीँ छ। नेपालीहरु सबै भइसक्यो। घानाको खेलाडीसँग कुरा भइरहेको छ। पाकिस्तानीसँग पनि कुरा भइरहेको छ। एकजना लेवनानी गोलकिपरसँग पनि कुरा भइरहेको छ। हामी केही दिनमा फिक्स्ड गर्नेछौँ।’

उनले ८ गतेबाट टिमको प्रशिक्षण सुरु गर्ने बताए। 

लिगको लागि एन्फाले के तयारी गर्दैछ?

शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ वटै क्लबहरुले इन्ट्री फर्म भरिसकेका छन्। योसँगै सबै क्लबहरुले तयारी खर्च वापतको पहिलो किस्ताको १५ लाख रुपैयाँ हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

यसअघि त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार, संकटा, न्युरोड टिम र नेपाल पुलिसले बुधवार इन्ट्री फर्म बुझाएका थिए। एन्फाले प्रत्येक क्लबलाई लिग तयारीका लागि कुल ३२ लाख उपलब्ध गराउने जनाएको छ।

एन्फाको पुस २९ गते बसेको आकस्मिक कार्यसमितिको बैठकले लिगको विषयलाई लिएर केही महत्वपूर्ण निर्णय गरेको थियो। उक्त बैठकले ‘ए’ डिभिजन लिग फागुन १९ र ‘बी’ डिभिजन लिग चैत १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो।

लिग आयोजनाका लागि एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा सबै कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहने गरि लिग संचालन समिति गठन गरेको छ।

लिगका लागि साधारणतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ शुल्क तोकेको छ। ‘ए’ डिभिजन लिगको टिकेटिङ अधिकारका लागि १ करोड ५० लाख न्यूनतम तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको छ। त्यस्तै, टाइटल स्पोन्सरबाहेक कमर्सियल र मार्केटिङ अधिकारका लागि न्यूनतम १ करोड ५० लाख मुल्य तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell