पोखरा : पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ।
पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए। उनका अनुसार मंगलवार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि मंगलवार नै ४८ शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको थियो।
पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुनेछ। शव क्षतविक्षत भएका कारण पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ।
नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मंगलवार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ। मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मंगलवार सकिएपछि बुधवार बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए। मंगलवार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो। सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो।
‘सोमवार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ,’ उनले भने।
६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतवार काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो।