
काठमाडौं : नेकपा एमालेले सभामुखमा देवराज घिमिरेलाई अघि बढाउने तयारी गरेको छ। भोलि सभामुखको निर्वाचन हुँदैछ।
यसका लागि संघीय संसद सचिवालयमा आज दिउँसो १ बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे प्रकाशन हुने कार्यतालिका रहेको छ।
घिमिरे झापा-२ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेमा सबैभन्दा ठुलो दल एमाले हो। त्यसैले घिमिरे सभामुखमा निर्वाचित हुने करिब निश्चित भएको एमालेका नेताहरुले बताएका छन्। यद्यपि कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएकाले सभामुखका लागि छलफल जारी राखेको छ। यद्यपि कांग्रेसले सभामुखको तय भने गरिसकेको छैन।
तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।