
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुखमा उम्मेद्वारी दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न सकेन। बुधवार सभापति शेरबहादुर देउवा निवास धुम्बारहीमा पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा कुनै निष्कर्ष नभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
'पदाधिकारी बैठकमा छलफल भयो। हिजो सर्वदलीय बैठकमा भएको कुरा पनि राख्नुभयो,' प्रवक्ता महतले भने, 'दर्ता समय केही बाँकी छ। अन्य सहयोगी दलसँग पनि छलफल गर्ने कुरा छ।'
सभामुखको उम्मेदवारी आज दिउँसो १ बजेबाट शुरु हुने कार्यतालिका रहेको छ। दिउँसो ४ बजे अन्तिम समय तोकिएको छ। यो बीचमा यो उम्मेदवारीबारे टुंगो लाग्ने महतले बताए। 'अन्य दलको निष्कर्ष आउन सक्छ। त्यसपछि मात्र उम्मेदवारी टुंगो लगाउँछौ,' उनले भने, 'कुन कुन दलबाट सहयोग लिन सकिन्छ भन्ने कुरा पनि क्लियर हुन्छ।' एमालेले देवराज घिमिरेलाई उम्मेवार बनाउने निर्णय गरिसकेको छ।