PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सभामुखमा कांग्रेसको पनि दाबी, कसलाई उम्मेदवार बनाउने भन्नेमा दोधार



पहिलोपोस्ट

सभामुखमा कांग्रेसको पनि दाबी, कसलाई उम्मेदवार बनाउने भन्नेमा दोधार

काठमाडौं : नेपाली कांग्रेसले सभामुखमा उम्मेदवार दिने तयारी गरेको छ। यसबारे निर्णय लिन कांग्रेसले दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक डाकेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बारहीमा बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले मनोनयन दर्तासम्म अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको थियो।

अन्तिम निर्णय भने संसदीय दलको कार्यसमितिले गर्न कांग्रेस सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले बताए। 'सभामुखमा उम्मेदवारी दिने लगभग तयारी हो। तर यसबारे अन्तिम निर्णय संसदीय दलको कार्यसमितिले लिनेछ,' सहमहामन्त्री पाण्डले भने।

सभामुखमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउने एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई अनुरोध गर्ने तयारी गरेको छ। एमालेले देवराज घिमिरेलाई सभामुख बनाउने निर्णय गरिसक्दा कांग्रेसबाट उम्मेदवार को? यसबारे अझै टुंगो लागेको छैन। यद्यपि कांग्रेसले महिला सांसदहरु अम्बिका बस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाईलगायतको नाम चर्चामा ल्याएको छ। यसअघि कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीको नामसमेत चर्चामा आएको थियो। उम्मेदवारी दिनेबारे अन्तिम निर्णयपछिमात्र उम्मेद्वार टुंग्याउने तयारी कांग्रेसले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell