
काठमाडौं : नेकपा एमालेबाट सभामुखमा देवराज घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन्। प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्। भोलि सभामुखको निर्वाचन हुँदैछ।
यसका लागि संघीय संसद सचिवालयमा आज दिउँसो १ बजेबाट उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे प्रकाशन हुने कार्यतालिका रहेको छ।
घिमिरे झापा-२ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेमा सबैभन्दा ठुलो दल एमाले हो। तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।