
युक्रेनको राजधानी कीभको पूर्वी उपनगरमा रहेको नर्सरी स्कुल नजिकै हेलिकप्टर दुर्घटना हुँदा त्यहाँका आन्तरिक मामिला मन्त्रालयका तीन प्रमुख व्यक्तिको मृत्यु भएको छ। ४२ वर्षीय आन्तरिक मामिलामन्त्री डेनिस मोनास्टिरस्कीसहित राज्यमन्त्रीको मृत्यु भएको हो।
ब्रोभरीमा बुधवार भएको दुर्घटनामा हेलिकप्टरमा सवार नौ जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित जमिनमा रहेका अन्य नौ जनाको पनि मृत्यु भएको थियो। मन्त्री मोनास्टिरस्की युद्ध सुरु भएदेखि युक्रेनले गुमाएको सबैभन्दा ‘हाइ प्रोफाइल’ व्यक्ति हुन्।
युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले युद्ध ‘हट स्पट’मा जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा मन्त्रीको मृत्यु भएको बताए। दुर्घटना बाहेक अन्य कारण बाहिर नआएपनि प्रत्यक्षदर्शीहरूले भने रसियाको युद्धलाई नै यसको दोष दिएका छन्।
आन्तरिक मामिला मन्त्री मोनास्टिरस्की राष्ट्रपति भोलोडिमी जेलेन्स्कीको मन्त्रिपरिषद्का प्रमुख सदस्य थिए। फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेदेखि रसियाली मिसाइल हमलाबाट भएको हताहतको बारेमा जनतालाई अपडेट गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।