PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बर्सेनि थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : छोटो समयमा धेरै नाफा खोज्दा निक्षेपकर्ताको बिचल्ली



पहिलोपोस्ट

बर्सेनि थपिँदै ‘सहकारी ठगी’ मुद्दाको चाङ : छोटो समयमा धेरै नाफा खोज्दा निक्षेपकर्ताको बिचल्ली

काठमाडौं : ‘तपाईँले सम्पर्क गर्दै गर्दा खेरी नै दुई वटा उजुरी आइसकेको छ,’ सहकारी विभागका गुनासो सुन्ने अधिकारी उपरजिस्ट्रार खिमानन्द आचार्यले भने। उनका अनुसार पछिल्लो समय विभागमा आफ्नो बचत डुबेको, सहकारीबाट विभिन्न बदमासी भएको भन्दै लिखित तथा मौखिक रुपमा गुनासो आउने क्रम बढेर गएको छ।

सहकारी ठगीदेखि गुनासोको लागि सहकारी विभागमा मात्र होइन नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेलो सरकारदेखि स्थानीय निकायमा समेत गुनासो र उजुरी गर्ने क्रम बढेर गएको छ। सहकारीले घर जग्गामा लगानी गर्ने अनि बैङ्कको ब्याजदर चर्किएर जाँदा झन् सहकारीको लगानी जोखिममा पर्दै गएको छ। जसले गर्दा दिन प्रतिदिन सहरकारी ठगी प्रकरण सतहमा देखिएको छ।

गएको साउन महिनादेखि पुस २६ गतेसम्म मात्र सहकारी विभागमा ४ सय ५१ वटा उजुरी दर्ता भएका छन्। यी व्यक्ति र संस्था दुवैको नाममा दर्ता भएको उजुरीको सङ्ख्या हो।

एउटा सहकारी वा त्यसका पदाधिकारीविरुद्ध जति जनाले उजुरी दिए पनि त्यसको रेकर्ड एउटा मात्र हुन्छ। जसको आधारमा भन्नु पर्दा यो डर लाग्दो तथ्याङ्क हो। सबै भन्दा धेरै उजुरी बचत फिर्ता गर्नु पर्‍यो भन्दै आउने गरेका छन्। बैंकको ब्याजदर चर्को हुँदा पनि यसको प्रत्यक्ष असर सहकारीमा देखिएको छ।

‘अब बैंकको दर घट्ला। त्यसपछि सहरकारी प्रकरणका घटना पनि कमी आउँला कि भन्ने अपेक्षा हो,’ विभागका उप-रजिस्ट्रार टोलराज उपाध्यायले भने।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक फरार भएपछि गौतम श्रीको प्रकरण बाहिरिएको थियो। सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ।

अहिले यो घटना पनि सतहमा रहेको छ। विभागले गौतम श्रीलाई समस्याग्रस्त भनेर मन्त्रालयमा घोषणा गर्न सिफारिस गरेको छ। तर, सिफारिस गरेको लामो समय भइसक्दा पनि मन्त्रालयबाट कुनै जानकारी नआएको विभागका कर्मचारी बताउँछन्।

‘हामीले धेरै अगाडि सिफारिस गरेका हौँ। तर, अहिलेसम्म कुनै जवाफ छैन,’ ती कर्मचारीले भने।

सहकारी विभागमा अहिलेसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका थिए। गएको आर्थिक वर्षमा ३ सय सहकारीविरुद्ध विभिन्न उजुरी विभागमा परेको छ। सहकारी विभागको तथ्याङ्क अनुसार देशभर ३० हजार सहकारी संस्था दर्ता छन्।

प्रत्येक वर्ष सहकारी ठगी बढ्दो

प्रहरीको पछिल्ला तथ्याङ्कले पनि प्रत्येक वर्ष सहकारी ठगीका घटना बढ्दै गएको देखाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा मात्र देशभर २७ वटा मुद्दा दर्ता भएका छन्। यो अवधिमा २८ जना अभियुक्तलाई प्रहरीले पक्राउ पनि गरेको छ। १५ करोड १० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

काठमाडौं उपत्यकाभित्र सबै भन्दा धेरै १७ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीका डीआइजी टेकबहादुर राईले जानकारी दिए। त्यस्तै, १ नम्बर र मधेश प्रदेशमा ३/३ वटा मुद्दा दर्ता भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि मुद्दा दर्ता भएको देखिँदैन।

आर्थिक वर्ष २०७६/७७ मा देशभर १४ वटा सहकारी ठगीका मुद्दा दर्ता भएका थिए। जसमा प्रहरीले सहकारी सञ्चालक समेत गरेर २४ जनालाई पक्राउ गरेको थियो। अदालतमा ६१ करोड ११ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। सबैभन्दा धेरै १ नम्बर प्रदेशमा मुद्दा दर्ता भएको थियो। १ नम्बर प्रदेशमा ८ वटा उजुरी दर्ता हुँदा काठमाडौं उपत्यकाभित्र एउटा मात्र उजुरी दर्ता भएको थियो।

त्यसको ठिक एक वर्षपछि अर्थात आर्थिक वर्ष २०७७/७८ मा मुद्दा दर्ताको सङ्ख्या बढ्यो। देशभर २० वटा सहकारीविरुद्ध मुद्दा दर्ता गर्‍यो प्रहरीले। ८३ करोड ७२ लाख बिगो दाबीसहित ७५ जनालाई पक्राउ गरेर अदालतमा बुझायो। काठमाडौं उपत्यकाभित्र मात्र ११ वटा मुद्दा दर्ता हुँदा २९ जना समातिएका थिए।

२०७८/७९ मा झन् मुद्दा दर्ताको सङ्ख्या बढेर गयो। २४ वटा मुद्दा प्रहरीले दर्ता गर्‍यो। जसमा ७५ जना अभियुक्त समातिए। ६ अर्ब ८१ करोड १० लाख रुपैयाँ बिगो दाबी गरियो। यस वर्ष सहकारी ठगी उपत्यका केन्द्रित भएको मात्र देखिएन। प्रायः सबै प्रदेशमा बराबरीको सङ्ख्यामा नै मुद्दा दर्ता भयो। यसरी हेर्दा पछिल्लो चार आर्थिक वर्षमा सहकारी ठगीका घटना बढेका बढै देखिएको छ।

सहकारीको नियमन फितलो हुँदा सञ्चालकले आफूखुसी लगानी गरिरहेका छन्। उनीहरूले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा सहकारी डुब्ने गरेका छन्। डुबेका अधिकांश सहकारी घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ।

विगतमा घरजग्गाको कारोबारबाट ओरियन्टल सहकारी समेत डुबेको थियो। ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत थिए। घरजग्गाको कारोबार चम्किएपछि उनले सहकारीको पैसा त्यतै लगाए। उनले ओरियन्टल सहकारीबाट अर्बौ रुपैयाँ घरजग्गामा लगानी गरेका थिए। त्यहाँ पैसा राखेका धेरैले अहिलेसम्म पनि निक्षेप फिर्ता पाएका छैनन्। सिभिल सहकारी पनि घरजग्गाकै कारण डुबेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell