
काठमाडौं : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माछाको कथा बुनेर सत्ताको पिँजडा कसिलो नबनाउन चेतावनी दिएका छन्।
प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएपछि ओलीले कांग्रेसलाई खाली खोलामा ढोक्सा नफाल्न चेतावनी दिएका थिए।
बिहीवारको संसदमा सभामुखमा आफ्नो दलकी उम्मेदवार ईश्वरी न्यौपानेको पक्षमा मत माग्दै शर्माले कांग्रेसले ढोक्सा नथापेको दाबी गरेका हुन्। उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने तर अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे।
'प्रमुख प्रतिपक्षी दलले विश्वासको मत दिएर कतै ढोक्सा त थापेको हैन? त्यसमा मैले केही बोलेन भने अपर्याप्त होला। हामीले ढोक्सा थापेका छैनौ। कसैलाई जालमा पार्न हाम्रो योजना छैन। तर माछा र ढोक्साको कथा बुनेर कसिलो पिजँडा चै नबनाउन मैले रोस्टममा उभिएर भन्नैपर्ने हुन्छ,' कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने।