PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सिके राउतले संसदमा सम्झाए बलिदानी दिवस : मौन धारण गर्न लगाउँदा माओवादी, एमाले र राप्रपाका सांसद उठेनन्



पहिलोपोस्ट

सिके राउतले संसदमा सम्झाए बलिदानी दिवस : मौन धारण गर्न लगाउँदा माओवादी, एमाले र राप्रपाका सांसद उठेनन्

काठमाडौं : आज मधेश बलिदानी दिवस। मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा विगत १६ वर्षदेखि आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा मनाइँदै आइएको छ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आज प्रतिनिधिसभामा यो दिवसको उल्लेख गरे। राज्यले मधेशलाई दिनुपर्ने सम्मान नदिएको भन्दै उनले मधेशको लागि बलिदानी दिनेको कदर गर्दै मौन धारण गर्न सभासमक्ष अपील गरे।

राउतले आफैले सांसदहरुलाई उभिएर शहीदहरुप्रति मौन धारण गर्न भनेका हुन्। त्यसपछि सदनमा रहेका केही सांसदहरु उठेर राउतसँगै मौन धारणमा सहभागी भए।

उनको अपीलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका सांसदहरु उभिए। राउतले हातमा घडी लिएर समय हेरिरहे पनि नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी, सांसदहरु भने उठेनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र राजेन्द्र लिङ्देनले राउतको अपील अस्वीकार गर्दा उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछाने पनि मौन धारणका लागि उठे।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत पार्टीले सरकारमा रोजेको मन्त्रालय नपाएको भन्दै सरकारबाट बाहिरिने चेतावनी दिइरहेको छ। कृषि मन्त्रालयमा दाबी गरेको जनमत पार्टीले अबदु खानमा सरकारमा पठाए पनि उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएपछि राउत रुष्ट बनेका छन्। उनले मधेशी र थारूलाई राज्यबाटै बहिष्करण हुँदै आएको आरोप लगाएका छन्।

आजको बैठकमा पनि उनले मधेशका पार्टीहरलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको भन्दै प्रश्न गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell